भ्रष्टाचार विरोधी अभियन्ताको ‘ट्याग’ लागेका ज्ञानेन्द्र शाही गत शनिबार चितवनमा कुटिएपछि उनी फेरि चर्चाको शिखरमा पुगेका छन् । यसअघि नेपालगञ्जबाट फर्किने क्रममा पर्यटन मन्त्री योगेश भट्टराईलाई प्लेन डिले गरेको भन्दै आकासमा उडिरहेको प्लेनभित्रै गालीगलौजमा उत्रिएपछि उनको भिडियो भाइरल भएको थियो । अहिले ज्ञानेन्द्र शाहीको पक्ष र विपक्षमा मत बाँडिएका छन् । शाहीले मुुलुकमा बढ्दो भ्रष्टाचारको विरोध गर्दैै आफ्नो तीखो भाषणबाजी गरिरहेका छन् । अभियान चलिरहेकै बेला मरणासन्न हुनेगरी कुटाइ पनि खाइरहेका छन् । आखिर भ्रष्टाचारजस्तो सामाजिक र सरकारी विकृतिविरुद्ध आवाज उठाउने व्यक्तिलाई किन चितवनमा कुटाइ खानुप¥यो ? यो प्रश्नको उत्तर दिन त्यति सजिलो छैन ।

शाहीलाई राजावादीको ट्याग पहिलेदेखि नै लागेको हो । राजतन्त्र फाल्न जनताले लामो सङ्घर्ष गरे । ०६२/६३ को जनआन्दोलनले राजतन्त्र फालियो पनि । मुलुक लोकतान्त्रिक गणतन्त्र बन्यो । अहिले नेकपाको शासन र सत्ता छ । नेकपा, कम्युनिष्ट विचारधाराबाट फलित फुलित हुँदै हो । राजावादी ट्याग लागेका ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको विरोध गर्दा ‘नसुहाएको’ ठानेर पनि नेकपा समर्थित ‘जनता’ ले कुटपिट गरेको हुन सक्छ । केही दिन अघिमात्र पर्यटन मन्त्रीसँगको विवादलाई पनि चितवन कुटाइ काण्ड जोड्नेहरू पनि छन् । भलै, चितवन र नेपालगञ्ज काण्ड जोडिन्छ जोडिन्न अनुसन्धानकै विषय बनेको छ । आम चासो र चिन्ताको विषय भने शाहीलाई सार्वजनिक रूपमा कुटपिट गरेर कानून हातमा लिने प्रवृत्तिलाई कसले मलजल गरिरहेको छ भन्नेमा छ । सत्ताको विपक्षमा उभिने, भ्रष्टाचारको विरुद्ध बोल्ने, सरकारलाई प्रश्न गर्ने व्यक्ति राजवादी होस् वा कुनै पार्टीका कार्यकर्तालाई आतङ्कवादी शैलीमा साङ्घातिक आक्रमण गर्नु, सार्वजनिक रूपमै कुटपिटमा उत्रनु सामाजिक, राजनीतिक अराजकताको विशेषता हो । शक्तिशाली सरकारको कमजोर उपस्थितिमा मौलाएको भ्रष्टाचारविरुद्ध सत्ताधारी नेता कार्यकर्ताले नबोलेपछि ज्ञानेन्द्र शाहीहरू जन्मन्छन् । रवि लामिछानेहरू जन्मन्छन् । भ्रष्टाचारको विषयमा बोल्न सक्नेहरूलाई कुनै अमुक संस्थाले मोहरा बनाउन पनि सक्छन् । भ्रष्टाचारको विषयमा बोल्दा शाहीले सत्तापक्षको समर्थन गर्नेहरूबाट कुटाइ खाए भनिएको छ । यदि यो साँचो हो भने सत्ताको उन्मादिलो क्षणबाहेक अरु के हुनसक्छ ? शाही अरु नै दलका वा राजावादी नै भए पनि वा नभए पनि उनले प्रश्न गर्न पाउँछन् । तर भ्रष्टाचारको विषयमा बोल्ने, प्रश्न गर्नेहरू जति आए एकाएक आए । मानौं पहिले चाहिँ नेपालमा भ्रष्टाचार, बेथिति नै नभएको जस्तो गरी भ्रष्टाचारविरुद्ध अभियान चलाए । रातारात सेलिब्रेटी भए ।

फेसबुक, ट्वीटर, टेलिभिजन, युट्युब र पत्रपत्रिकामा भाइरल भएका छन् । यस्तो लाग्छ अब सेलिब्रेटी हुन, चर्चा पाउन र रातारात भाइरल बन्नका लागि भ्रष्टाचारविरोधी अभियानलाई ज्ञानेन्द्र शाहीशैली अपनाउनै पर्छ । भ्रष्टाचार सर्वसाधारणलाई पटक्कै मन पर्दैन । किनकी भ्रष्टाचारबाट सबैभन्दा पीडित तिनै सर्वसाधारण नै हुन्छन् । आज काङ्ग्रेस, नेकपा, राजपा, समाजवादीलगायत पार्टीका कुनै नेता, कार्यकर्ता, मन्त्री, प्रधानमन्त्रीदेखि ब्युरोक्र्याट्सले भ्रष्टाचारविरुद्ध बोलेको कुरा जनताले एकरत्ति पत्याउँदैनन् । यस्तो अवस्थामा शाही वा लामिछानेले भ्रष्टाचारविरुद्ध बोल्दा आमजनताको मनमस्तिष्क तरङ्गिनु कुनै अनौठो होइन । उनीहरूले भ्रष्टाचार विरुद्ध अभियान चलाउनु भनेको सत्ता र सरकारलाई प्रश्न गर्र्नु हो । सरकारलाई सच्चिनका लागि चेतावनी पनि हो । चेतावनी दिनेलाई कुटेर तह लगाउन खोज्नु चाहिँ तानाशाही रवैया प्रदर्शन हो । यद्यपि प्रश्न गर्नेको पनि आफ्नै नैतिक धरातल र व्यक्तिगत छवि भने सार्वजनिक रूपमा ‘क्लियर’ हुनैपर्छ ।