नेपालको नाम चलेको कम्पनी सिजी फुड्स प्रालिले सुनसरीको गढी गाउँपालिका–२ औरावनीमा सिजी फुड्सका उत्पादन शुरु गरेको छ । सरकारको औद्योगिक ग्राम बनाउने योजनालाई यसले सहयोग गरेको छ । ठूला उद्योगहरू पश्चिम केन्द्रित रहेका बेला सिजीले सुनसरीको एउटा गाउँमा ठूलो उद्योग सञ्चालन गर्नु प्रदेश १ कै लागि गौरवको कुरा हो । करिब ७ करोडको लगानीमा शुरु गरिएको उद्योगले प्रदेशको शान बढाउनेमा दुई मत छैन ।

तर शुरुवाती समयमै उद्योग व्यवस्थापन र गढी गाउँपालिकाबीच मनमुटाव भएको समाचार बाहिरिएको छ । गाउँपालिका प्रशासन पक्ष र उद्योग प्रशासन पक्षबीचको द्वन्द्वले दुवैलाई किमार्थ फाइदा गर्दैन । स्थानीय तह सञ्चालन ऐन २०७४ ले स्थानीय तहमा रहेका उद्योग कलकारखाना, त्यहाँको सम्पत्ति उपयोगमा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने व्यवस्था गरेको छ ।

आफ्नो गाउँपालिकाभित्र सञ्चालनमा रहेका उद्योग, कलकारखाना, व्यवसायलाई प्रवद्र्धन र निगरानी गर्ने जिम्मेवारी गाउँपालिकाको हो । फलाउने फुलाउने, आर्थिक उन्नति कसरी गर्ने भन्ने योजना, कार्ययोजना बनाउने काम स्थानीय सरकारकै हो । सुनसरीमा सञ्चालनमा आएको उद्योगले स्थानीय तहसँग समन्वय नगरी सञ्चालनमा ल्याएको भन्ने कुरा बाहिर आएको छ । कुनै पनि उद्योग व्यवसायले आवश्यकताअनुसार स्थानीय तहसँग समन्वय गर्नु उसको दायित्व पनि हो ।

एउटा उद्योग सञ्चालनका क्रममा निश्चित मापदण्ड हुने गरेका छन् । ती मापदण्डहरू पूरा गर्नु उद्योग सञ्चालकको दायित्व हो । पहुँचका भरमा ‘पेलेर लान्छु’ भनेर नियम विपरीत सञ्चालन गरी स्थानीय तथा कामदारमा नकारात्मक असर गर्ने काम उद्योगले गर्नु हुँदैन । देशभरि विश्वास कमाएको सिजीले सुनसरीमा अविश्वासी काम गर्नु निश्चय नै उसका लागि फलदायी होइन ।

स्थानीय सरकारसँग भएको सम्झौता पालना गरेर आफ्नो उद्योगलाई निरन्तरता दिनु उद्योगको कर्तव्य हो । स्थानीय तहका जनप्रतिनिधिहरूले पनि अनुचित लाभ उठाउने नियतले उद्योगलाई खेदो गर्नु उचित हुँदैन । उद्योग र गाउँपालिका दुई बीच आपसी समझदारी गरी बढीभन्दा बढी जनतालाई हित हुने र उद्योगबाट स्थानीय तहले फाइदा लिने हिसाबले उद्योग सञ्चालनका लागि सहयोग गर्नु पर्दछ ।

शुरु भएको एउटा उद्योग बन्द गर्ने वा अन्यत्र धपाउनेभन्दा पनि अरू उद्योगहरू सञ्चालन गर्न प्रोत्साहन गर्ने काम स्थानीय तहले गर्नु पर्दछ । बेलैमा उद्योग व्यवस्थापन र स्थानीय तहका जनप्रतिनिधिबीचको संवादबाट द्वन्द्व न्यूनीकरण गर्नु नै उचित देखिन्छ ।