धनकुटा/ प्रायः गरेर अधिकांश निर्माण कम्पनीले धेरै योजनाहरूको ठेक्का लिने तर समयमा काम कहिल्यै नसक्ने आरोप जहिले पनि खेपिरहेका हुन्छन् । निर्माण कम्पनीकै लापरबाहीले अलपत्र अवस्थामा रहेका दर्जनौं योजनाहरू पनि धेरै छन् ।

तर धनकुटाको एक निर्माण कम्पनीले भने तोकिएको समयभन्दा करिब ५ महिनाअघि नै शहीदभूमि गाउँपालिकामा २ तले स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न गरी एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

शहीदभूमि गाउँपालिका–६ थलथले बजारस्थित आँखीसल्ला स्वास्थ्य चौकी भवन निर्माणको म्याद १८ महिना भए पनि निर्माण कम्पनी सगरमाथा सुदीक्षा थुलुङ जेभीले साढे १३ महिनामै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

शनिबार एक कार्यक्रमका बीच निर्माण कम्पनीका प्रोप्राइटर प्रकाश थुलुङले गाउँपालिका अध्यक्ष मनोज राईको रोहवरमा वडा नं.६ का वडाध्यक्ष हेमकुमार राई, आँखीसल्ला स्वास्थ्य चौकीका निमित्त प्रमुख जीवनकुमारी राईलाई भवन निर्माण सम्पन्न भएकोे कागजात संयुक्तरूपमा हस्तान्तरण गरे ।

शहरी विकास कार्यालय तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटाको भ्याटबाहेक २ करोड ९ लाख ३४ हजार १ सय ८३ रुपैयाँको लागतमा सो भवन निर्माण भएको निर्माण कम्पनी सगरमाथा सुदीक्षा थुलुङ जेभीका प्रोप्राइटर प्रकाश थुलुङले बताए ।

सो भवनको निर्माण सम्झौता २०७५ साल असार २५ गते भएको थियो । योजना निर्माण सम्पन्न म्याद आगामी ०७६ पुस २४ गतेसम्म रहेको छ । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मनोज राईले समयअगावै निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीलाई धन्यवाद दिए । उनले भने, ‘मैले स्वास्थ्य चौकी निर्माणको कामलाई नजिकबाट नियालेको र काम सन्तोषजनक पाएको छु । असल तथा कुशल निर्माण व्यवसायी पाएकै कारण निर्माण कार्य चुस्तदुरुस्त र समयमै सम्पन्न भएको हो ।’

यता निर्माण व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष अर्जुन केसीले सबैको सहयोग पाए निर्माण व्यवसायीले ठेक्का लिएको काम समयमै पूरा हुने बताए । कानूनी झन्झट र स्थानीयको सहयोग नपाएकै कारण अधिकांश योजनाहरू समयमा पूरा हुन नसकेको बताउँदै युवा निर्माण व्यवसायी प्रकाश थुलुङ सबै निर्माण व्यवसायीको लागि उदाहरणको पात्र बनेको बताए ।

सगरमाथा सुदीक्षा थुलुङ जेभीका सञ्चालक थुलुङले थलथले बजारवासीको सहयोगले भवन निर्माण समयमै सम्पन्न गर्न सम्भव भएको बताए । त्यस क्षेत्रमा खानेपानीको समस्या भए पनि त्यहाँका स्थानीय बासिन्दाले पिउन राखेको पानीसमेत उपलब्ध गराएर निर्माणमा सहयोग गरेको उनले बताए । कच्ची सडक भएको कारण भवन निर्माणको लागि आवश्यक सामग्रीहरू ल्याउन कठिन भएको अनुभवसमेत उनले व्यक्त गरे । स्वास्थ्य चौकी भवनको स्वामित्व लिएपछि ६ नं. वडाका वडाध्यक्ष हेमकुमार राईले अब केही दिनभित्रै पुरानो स्वास्थ्य चौकीको सामान नयाँ भवनमा सार्ने र एक समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिने बताए ।

शहीदभूमि गाउँपालिकाभित्र अहिलेसम्म स्वास्थ्य चौकीको सुविधायुक्त भवन बनेको थिएन । भवन निर्माण समयमै पूरा भएपछि उपचारको लागि सदरमुकाम तथा धरान जानुपर्ने बाध्यता हटेको छ । तोकिएको समयअघि नै भवन निर्माण कार्य पूरा गरेको कारण निर्माण कम्पनीले नेपाल सरकारबाट योजनाको कुल लागतको करिब २० प्रतिशत बोनस रकमसमेत उपहार स्वरूप पाउने भएको छ । सो अवसरमा सङ्घीय कार्यान्वयन इकाई कार्यालय विराटनगरका इञ्जिनियर राजु शर्मालगायत अन्य प्राविधिकहरूको उपस्थिति रहेको थियो ।