विराटनगर / आकर्षक तरिकाले सजाएको मञ्च । त्यस माथि लामबद्ध मिलाएर राखिएको साउण्ड सिस्टम । विराटनगरस्थित वीरेन्द्र सभा गृहमा शनिबार साँझ जब जनगायक जेबि टुहुरे शिरमा भद्गाउँले टोपी, टिपिकल सर्टपेन्ट र त्यसमाथि स्टकोटमा सजिएर मञ्चमा पुग्दा सबैले ताली बजार स्वागत गरे । जेबी टुहुरे फाउण्डेसनले आयोजना गरेको टुहुरेको एकल सांगीतिक साँझमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट सम्मान गरेपछि प्रस्तुति आरम्भ भएको थियो ।
‘आमा तिम्रो माया कञ्चन पानी जस्तो.....’ बोलको गीतबाट प्रस्तुति थालेका टुहुरेले दोस्रो गीत छोराहरू हो, छोरीहरू हो, वीर छोराछोरीहरू... प्रस्तुत गरिरहँदा हलले ताली बजाएर स्वागत गरेको थियो । ७६ वर्षको उमेरमा पनि युवा जोस जाँगर निकालेर आफ्नो प्रस्तुति राख्नुभएका टुहुरेले ‘दुःखको बोझ बिसाउनm चौतारी बनाउ है... गीत प्रस्तुत गर्दा सहभागी सबैको ध्यान खिचे ।
पञ्चयात कालदेखि जनता जगाउने गीत गाउँदै आएका टुहुरे २६ वर्षको उमेरमा गाएको ‘बसाइ हिड्नेको ताँतीले, बस्नेको मन रुवाउँछ... बोलको गीत युवा जोसको साथ प्रस्तुत गरे । टुहुरेले एकल साझमा कोशीको पानी सलल...., पानी चल्दैन रे, रगत चल्दछ..., बरु मेरो छाती छेड.. जस्ता १३ वटा गीत प्रस्तुत गरे । टुहुरेले कालजयी गीत आमा दिदी बहिनी हो.......... सुरु गर्दा सहभागीले चर्को हुटिङ गरेका थिए भने मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेसहितले नाचेर साथ दिए ।
करिब २ घण्टासम्म लगातार प्रस्तुति दिएका टुहुरको स्वरमा बृद्धावस्थाको छनक थिएन । टुहुरेलाई साथ दिएर मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की कार्यक्रमको सुरुदेखि अन्तिमसम्म बसेका थिए । यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीसहित सांसदहरु, दलका नेता तथा कार्यकर्ताहरु, उद्योगी, व्यापरी र सर्वसाधरणहरूले भरपुर मनोरञ्जन लिएका थिए ।
पञ्चयात कालदेखि गीत संगीतको माध्यमबाट जनतालाई जोगाउँदै आफू जन्मे हुर्केको ठाउँमा एकल सांगीतिक प्रस्तुती दिन पाउँदा निक्कै रमाइलो भएको टुहुरेले अनुभूती सुनाए । टुहुरेलाई एकल साँगीतिक साझमा गायिका मधु गुरूङ्ग, गंगा राई, गायक आकाश थापा, संजिव धिमालले साथ दिएका थिए ।
कार्यक्रममा मुख्यमन्त्री राईले परिवर्तनको आन्दोलनमा गीत, संगितको माध्यमबाट जनगायक जेबी टुहुरेले खेलेको भूमिका अतुलनीय रहेको बताए । संघीय गणतन्त्र र लोकतन्त्र स्थापनाको श्रेय पनि जनगायक टुहुरेहरुलाई जाने उहाँको भनाइ थियो । विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले परिवर्तनको आन्दोलनमा ठूलो योगदान पु¥याउनुभएका टुहुरेको साँगीतिक साँझ विराटनगरमा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे ।