इलामको कुटीडाँडास्थित पाथिभरा मन्दिरमा आउँदो बडादशैँको फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको छ । झापाको विर्तामोडका व्यवसायीको आयोजनामा यही असोज १८ गते फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको हो ।

यस वर्ष आयोजना गर्न लागिएको भण्डारा दशौँ पटकको हुने पाथिभरा भण्डारा समितिका सदस्य सन्तोष अग्रवालले जानकारी दिए । चैतेदशैँ र बडादशैँ गरी वर्षमा दुईपटक भण्डारा लगाउने गरिएको उनले बताए ।

यसपटक लगभग छ हजार भक्तजनलाई पुग्ने गरी भण्डारा लगाउने तयारी गरिएको छ । दशैँको बेला पाथिभरामा भक्तजनको घुइँचो लाग्ने भएकाले दशैँको अवसरमा प्रसादको भण्डारा लगाउने गरिएको पनि अग्रवालले जानकारी दिए । प्रसादको भण्डारा लगाउन थालिएको आधा दशकको यो अवधिमा पाथिभरा भण्डारा समितिले दर्शनार्थीको सुविधाका लागि पाथिभरा क्षेत्रमा विभिन्नखाले सुविधायुक्त संरचनासमेत निर्माण गरिदिएको छ ।

पहिलो भण्डारा लगाउँदा पानी बोकेर मन्दिर परिसरमा पुर्याउँदा झेल्नु परेको समस्यालाई दृष्टिगत गरी विर्तामोडको मनिषा आइरनले ६ लाख ५० हजार खर्च गरेर मेची राजमार्ग छेउको मुहानबाट पाइपलाइन विस्तार गरी डाँडाको मन्दिरसम्मै शुद्ध खानेपानीको सुविधा पुर्याएको छ । विर्तामोडकै जनता केवलका सञ्चालक पवन अग्रवालले डाँडामा फिल्टर ट्याङ्की राखी चिसो र तातोपानीको व्यवस्था गरिदिएको छ ।

यस वर्षको भण्डारा लगाइने दिन स्टिलका १४ थान बेञ्च पनि सहयोग गर्ने कार्यक्रम रहेको छ भने त्यहाँ जग्गा उपलब्ध हुँदा हनुमान मन्दिर निर्माण गर्ने सोच पाथिभरा भण्डारा समितिले बनाएको छ । व्यवसायीहरुकै सहयोगमा मन्दिर समितिलाई भाँडाकुँडा पनि उपलब्ध गराइएको अग्रवालको भनाइ छ ।