उदयपुर । उदयपुरमा चोरी गरी फरार रहेका एकजना पक्राउ परेका छन् । नगद चोरी गरेर फरार रहेका चोरको मोबाइल नम्बरको लोकेसनको आधारमा प्रहरीले पक्राउ परेको हो ।
चौदण्डीगढी नगरपालिका–७ निबासी खड्गबहादुर सुन्चौरीको घरमा काम गर्न बसेका महोत्तरी बर्दीबासका नाम प्रकाश बताउने तेह्रथुम आठराई गाउँपालिका–३ छातेढुङ्गा निबासी २७ वर्षीय चन्द्रप्रकाश मैनालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मैनाली सुन्चौरीको घर फोडेर चोरी गरी फरार भएका थिए । गत साउन ८ गते दिउँसो करिब ५ बजे घरभित्रको दराज फोडेर ५ लाख ५० हजार नगद चोरी गरेर फरार रहेका मैनालीलाई उनले प्रयोग गरेको मोबाइल नम्बरको लोकेसनबाट फिदिम बजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मैनालीको साथबाट ७० हजार नगद, एक थान मोबाइल, चाँदीको सिक्री र ब्रासलेटसमेत बरामद गरको प्रहरीले जनाएको छ । घरमा काम गर्न बसेका व्यक्तिले दराज फोडेर चोरी गरी भागेपछि सुन्चौरीले इलाका प्रहरी कार्यालय बेलाटारमा उजुरी दिएको प्रहरीले जनाएको छ ।