विराटनगर /  हत्या आरोपमा फरार भएका तीन जना वडाध्यक्षसहित ९ जना अभियुक्त पक्राउ गर्न माग गर्दै पीडितहरूले जिल्ला अदालत मोरङ अगाडि बिहीबार प्रर्दशन पनि गरेका छन् । उनीहरू हत्यारालाई पक्राउ गरि कारवाहीको माग राख्दै प्रदर्शन गरेका हुन् ।
आफैँ हाजिर भएका हत्या आरोपी दीपेश यादवसहित सेमानन्द यादवको कर्तव्य ज्यान मुद्दा मोरङ प्रहरीले मुद्दा अदालतमा बुझाउन लगेपछि आफन्तले जिल्ला अदालत मोरङ अगाडि प्रर्दशन गरेका हुन । फरार आरोपीलाई पक्राउ गर्न माग गर्दै मृतक सेमानन्दका आफन्तहरूले प्लेकार्ड बोकेर नाराबाजी गर्दै प्रर्दशन गरेका थिए ।

यसै विच विराटनगर–१४ का सेमानन्द यादवको हत्या प्रकरणमा मुछिएका तीन जना वडा अध्यक्ष सहित १० जना विरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत बुधबार जिल्ला अदालत मोरङमा कर्तब्य ज्यान मुद्दामा वडा अध्यक्ष सहित १० जना विरूद्ध मुद्दा दर्ता भएको हो ।
सेमानन्दको कुटपिट पछि हत्या आरोपमा विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष ६५ वर्षिय बलदेव यादव, १८ का वडा अध्यक्ष ३५ वर्षिय संजय साह भन्ने संजय कुमार साह र मोरङको जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदिप भनिने प्रदिपचन्द यादवलाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भएको हो । त्यस्तै वडा अध्यक्ष बलदेवका ३० वर्षीय छोरा रविन यादव, विराटनगरका ५५ वर्षिय विन्देश्वर यादव, सोही ठाउँका ३२ वर्षिय विजय भन्ने शम्भू यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव र मोरङ जहदा गाउँपालिका १ का ४२ वर्षिय दिनेश प्रसाद यादवलाई पनि फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।