धरान/धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूको छोरो पूजन लिम्बूमाथि अज्ञात समूहले बिहीबार अपरान्ह छुरी प्रहार गरेको छ ।

धरान–१२ स्थित पब्लिक स्कूलको तल्लो गेट नजिकै नचिनेको समूहले पेटमा छुरी प्रहार गरेको हो । छुरी प्रहारबाट उनी गम्भीर घाइते बनेका छन् । हाल उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको बुबा पूर्ण लिम्बूले बताए । उनका अनुसार अहिले अप्रेसन गर्ने तयारी गरिएको छ ।

साथीसँग घुम्ने क्रममा त्यहाँ पुगेको समयमा बेला छुरी प्रहार भएको तर छुरी प्रहार गर्ने समूह तथा व्यक्तिको पहिचान गर्न नसकेको उनले बताए । २४ वर्षीय पुजन निर्माण व्यवसायी हुन् । हाल धरान १९ मै निर्माणको काम गर्दै आइरहेका थिए । यता इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्याैपानेले छुरा प्रहार गर्ने व्यक्तिकाे पहिचान भइसकेकाे जनाए ।