काठमाडौं   कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार गोइत जेल चलान भएका छन् । उच्च अदालत जनकपुर राजविराज इजलाशले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा थुनामा पठाएको हो । जिल्ला अदालतको आदेशमा गत जेठ ६ गते उनलाई चार लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा भएका गोइत हिजो जेल चलान भएका हुन ।
जिल्ला अदालतको बेरितको आदेश बदर गर्दै गोइतले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । उच्च अदालत जनकपुर राजविराज इजलाशले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो । सोही मुद्दामा पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य बिपी यादव भनिने विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल थुनामा छन् ।
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि कीर्ते गरी उपभोक्ता समिति बनाएको तथा सरकारी कार्यालयको कागजात कीर्ते गरेको अभियोगमा यादव र मण्डल गत वैशाख ५ गते पक्राउ परेका थिए । पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनियर रहेका बेला गोइतले राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोग उनीहरु माथि लागेको थियो ।