मिस वल्र्ड, मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रा नेसनलका लागि नेपाली प्रतिस्पर्धी जाने मिति सार्वजनिक भएको छ ।

मिस नेपालको आयोजक हिँड्न ट्रेजरले यसबारे जानकारी दिएको हो । मिस अर्थमा प्रतिनिधित्व गर्न रीया बस्नेत फिलिपिन्स जाँदैछिन् ।

२६ अक्टोबरमा हुने प्रतियोगिताका लागि रीया २७ सेप्टेम्बरमा पुग्नेछिन् । त्यस्तै जापानको टोक्योमा हुने मिस इन्टरनेसनलका लागि मीरा कक्षपती २५ अक्टोबरमा जापान पुग्नेछिन् । प्रतियोगिताको फाइनल १२ नोभेम्बरमा हुँदैछ ।

लण्डनमा हुने मिस वल्र्डमा भने अनुष्का श्रेष्ठको प्रतिनिधित्व रहनेछ । उनी २० नोभेम्बरमा जाँदैछिन् । मिस वल्र्डको अन्तिम प्रतिस्पर्धा डिसेम्बर १४ मा हुनेछ । त्यसअघि प्रतिस्पर्धीहरूले विभिन्न कार्यशालामा सहभागी हुनु पर्नेछ ।

त्यस्तै मिस सुप्रा नेसनलमा रोज लामा सहभागी हुनेछिन् । डिसेम्बरमा हुने फाइनलका लागि उनी १८ नोभेम्बरमा पोल्याण्डमा प्रस्थान गर्ने बताइएको छ । फिलिपिन्समा हुने मिस युनिभर्सको ६८ औं संस्करणमा प्रदिप्ता अधिकारीको सहभागिता रहनेछ ।