धरानमा शनिबारदेखि ३ दिने इष्ट टुरिजम मार्ट सञ्चालन भयाे  । अन्तर्राष्ट्रिय बजारमा मार्ट एउटा कुनै पनि मुलुकको आफ्ना उत्पादन बिक्री वितरण गर्ने उत्कृष्ट गन्तव्यको रूपमा लिने गरिन्छ । धरानमा अघिल्लो वर्षदेखि शुरु भएको टुरिजम मार्ट काठमाडौं बाहिर भएको सम्भव त यही इष्ट टुरिजम मार्ट हुनुपर्छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको मार्टलाई प्रदेश १ का पर्यटन व्यवसायीले कसरी उपभोग गर्छन् भन्ने चासोको विषय हो । मार्टमा विहार, सिक्किम, कलकत्ता, आसामलगायत प्रान्त तथा तेस्रो मुलुक भुटान र बङ्गलादेशबाट त्यहाँका पर्यटन व्यवसायीहरूको उपस्थिति प्रदेश १ का लागि अवसरको विषय हो । मार्टमा प्रदेश १ का पर्यटन प्रोडक्टहरू उनीहरूलाई प्याकेजमा बिक्री गर्ने र उनीहरू फर्किएपछि त्यहाँका पर्यटकहरू प्रदेश १ मा पठाउने यस मार्टको प्रमुख उद्देश्य हो । करिब ११० जनाको विदेशी पर्यटन व्यवसायीहरूको उपस्थिति हाम्रो लागि सुख्द हो । उनीहरूलाई कसरी हाम्रा उत्पादनहरू बेच्ने भन्ने चाहिँ चुनौतीको विषय हो । प्रदेश १ का पर्यटनसँग आबद्ध व्यवसयीहरूको उत्साहपूर्ण उपस्थिति र त्यतिकै सङ्ख्यामा विदेशी मुलुकका टुर अपरेटर तथा व्यवसायीहरूको सहभागिता यस मार्टको एउटा सफलताको सङ्केत हो । आयोजकले यसलाई भरपुर उपयोग गर्न सक्नु पर्दछ । हुन त गत वर्ष भदौमा पनि मार्ट धरानमै भएको थियो । भारतीयहरूको सहभागितामा सम्पन्न मार्टबाट नेपालका पर्यटन प्रोडक्टहरू कति बिक्री भए । कति पर्यटकहरूको मार्टपछि प्रदेश १ मा आगमन भयो भन्ने हिसाब किताब आयोजकले राख्नु पर्ने हो तर त्यसको समीक्षा र्नै नगरी अर्को मार्ट भएको छ । यसलाई विगतबाट पाठ सिक्दै मार्टलाई उपयोग गर्न आयोजक जिम्मेवार हुनुपर्दछ । मार्ट कर्मकाण्डी भएको आलोचना पनि भइरहेका छन् । व्यवसायीहरूसँग समन्वयको अभाव, प्रदेश १ का उत्कृष्ट गन्तव्यहरूको सूचीको अभाव मार्ट स्थलमा खस्किएको छ । प्रदेश १ का जिल्ला जिल्लाका प्रोडक्टहरू पहिचान गरेर विदेशी व्यवसायीहरूलाई बेच्न सक्दा मात्र यस मार्टको औचित्य परा हु्ने कुरा आयोजकले भुल्नु हुदैन् ।