बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी टीमको निश्चित भइसकेको, रंगशालाको स्तरोन्नती गरिएको र लगभग ५ हजार दर्शक क्षमताको प्याराफिट निर्माण भइसकेको आयोजक जायोन स्पोर्टस क्लबका खेल समिति संयोजक अविनास राईले जानकारी दिए ।

क्लबले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै भारतका २, नेपालका ए डिभिजनका ४ र मोफसलका २ टिमको टुंगो लागिसकेको जनाएको छ । आयोजकका प्रवक्ता राईले उद्घाटन खेल भारतको सिक्किम आक्रामक र संकटा क्लबबीच हुने बताए । झापा ११ ले दोस्रो क्वाटरफाइन खेलमा नेपाल पुलिस क्लबको सामना गर्ने खेल तालिका सार्वजनिक गरेको छ ।

आयोजक क्लबका सचिव महेन्द्र पाण्डेका अनुसार विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, थ्री स्टार क्लब छन् भने झापा ११ र गोर्खा ब्वाइज रुपन्देही पनि गोल्डकपमा सहभागी छन् । त्यस्तै, सिक्किम आक्रामक र असामको मोलवे फुटबल क्लब विदेशी टिमका रुपमा रहेका छन् ।

गोल्डकप विजेता टीमले १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार पाउनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार नगद पाउँदा फाइनल खेलको म्यान अफ दी टुर्नामेन्टले २५ हजार पाउने प्रवक्ता राईले बताए । उनका अनुसार विधागत तर्फ ७ वटा पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदियमान खेलाडीले जनही १५÷१५ हजार पाउने उनले जानकारी दिए ।

यसैबीच, गोल्डकपले मुख्य प्रायोजकको रुपमा बिर्तामोडको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको साथ पाएको छ । क्लबसँगको प्रायोजनबारे पनि आयोजकले केही खुलाएको छैन । क्लबका सदस्य गौरीमान राईले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार हिमाल किराँती र अन्नपूर्ण साकोसका प्रतिनिधि सन्तोष दाहालले गोल्डकपका बारेमा बोलेका थिए ।