जिरोपोइन्ट /  यहि असोज ३ र ४ गते वीरगञ्जमा सम्पन्न ओपन रेन्वो क्लासिक राष्ट्रिय बडिबिल्डिङ च्याम्पियनशिपको मेन्स फिजिक्समा बिजेता बन्न सफल भएका अवतार श्रेष्ठ र प्रशिक्षक पूर्ण लिम्बूलाई संजिवनी सुधार केन्द्र धरानले सम्मान गरेको छ ।
धरान १६ निवासी श्रेष्ठ देशभरिका १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेका हुन् । विजेता बन्दै उनले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दै कुलतमा फसेकाहरुको लागि उदाहरणीय बनेका छन् ।
विगतमा लागुऔषदमा फसेर सञ्जिवनी सुधार केन्द्रमा उपचार गराइ भर्खरैमात्र निस्केका थिए । सञ्जिबनी सुधार केन्द्रले संस्थामा उपचार गराइसकेका अधिकांश युवाहरुलाई संस्थाका स्वयंसेवकको रुपमा कार्य गराउने गरेकोले श्रेष्ठ पनि स्वयंसेवकको रुपमा कार्यरत रहेका छन् । कुलतलाई त्यागेर संस्था र सिंगो युवाहरूको लागि उदाहरणीय बन्न सफल भएकोमा अझ हौसला प्रदान गर्नका लागि सम्मान गरिएको सुधार केन्द्रक अध्यक्ष सम्पूर्ण ताम्राकारले बताएका छन् ।
सम्मान कार्यक्रममा बोल्दै अवतार श्रेष्ठले कुलतमा लागि सकेपछि कसैको सहयोग नलिइ आफैले नै कुलत त्याग्ने सोच बनाए पनि नसकेको तर पछि सञ्जिवनी सुधार केन्द्र र परिवारको साथले गर्दा आफुले कुलत त्यागेर खेल क्षेत्रमा लागेको उनल ेबताए । उनले च्याम्पियनसिपको बारेमा आफूलाई केही थाहा नभए पनि प्रशिक्षक पूर्ण तामाङको साथ सहयोग र हौसलाले गर्दा विजेता हुन सफल भएको बताएका छन् । ४ महिनाको अभ्यासमा उनले राष्ट्रिय स्तरको च्याम्पियन हुन सफल भएका हुन । ५ महिना अघि मात्र उनी सुधार गृहबाट निस्किएका थिए ।
उक्त कार्यक्रममा सुनसरी बडीबिल्डिङ संघका उपाध्यक्ष कबिरभगत प्रधानाङ्गले बडिबिल्डिङ र क्लासिक बडिबिल्डिङको भिन्नताबारे जानकारी गराएका थिए । उनले बडिविल्डिङमा सातवटा पोज देखाइन र क्लासिक बडिबिल्डिङमा चारवटा मात्र पोज रहने जानकारी दिदै श्रेष्ठलाई बधाई दिएका थिए ।