जन्मसँगै प्रारम्भ र मृत्युसँगै समाप्त हुने एक छोटो अस्तित्व नै जीवन हो । मानव जीवन सङ्घर्षमय प्रकृतिको हुन्छ । यसको मुख्य उद्देश्य भनेको अहिंसक बन्दै समाजबाट उपार्जित धन वा ज्ञान वा सीप समाजकै हितको लागि सशुल्क वा निःशुल्क बाँढ्दै खुशी तथा स्पष्टता प्राप्त गर्नु हो । यो नै वास्तविक मानव धर्म हो । यस कारणले हरेक विद्यर्थीले आफ्नो अदृश्य आन्तरिक सक्कल क्षमता पहिचान गर्न र उद्देश्य प्राप्तिका लागि योजनाबद्ध ढङ्गले अगाडि बढ्न ठूलो सपना देख्नु र बोक्नुपर्छ । जसको लागि उसले ठूलो आँट गर्नैपर्छ ।

वास्तविक जीवन रूपान्तरण गर्ने सपना त्यो होइन जुन राति निन्द्रामा देखिन्छ । सपना त त्यो हो जो निन्द्रा लाग्नु अगाडि देखिन्छ । यस्तो किसिमको सपनाले व्यक्तिलाई गहिरो निन्द्रा लाग्दालाग्दै पनि उठ्नका लागि निरन्तर घच्घच्याउने गर्दछ । अर्थात् जीवन बदल्ने सपनाले व्यक्तिलाई अल्छी मान्न र बढी सुत्न दिँदैन । विशिष्ट सपना एक प्रकारको अन्तर मनको मधूर आवाज हो । जसले व्यक्तिको जीवनलाई रूपान्तरण नगरुन्जेलसम्म अन्तर मनमा आवश्यकताअनुसार बजीरहन्छ ।

जीवन एक सरल तर सङ्घर्षमय यात्रा हो । सङ्घर्षमय भन्नाले प्रयासले भरिएको अवस्थालाई जनाउँछ । जहाँ तुलना र प्रतिस्पर्धा अत्यन्त न्यून रहन्छ । हरेक व्यक्तिले जीवनको यात्रा गर्नुपर्छ । जीवनको यात्रा गर्ने क्रममा विभिन्न स्टेशनहरू अर्थात् सफलता वा असफलताहरू आउन सक्छन् । प्रतिकुल स्टेशन आयो भन्दैमा अत्तालिनु हुँदैन । आफ्नो जीवन यात्रालाई हरेक विद्यार्थीले अर्थपूर्ण र मनोरञ्जनात्मक बनाउन सक्नुपर्छ । सो क्रममा यदि सपना पूरा भएन भने के गर्ने भन्ने किसिमको प्रश्न कहिल्यै गर्नुहुँदैन । बरु सपना साकार पार्न निरन्तर रूपमा आत्मविश्वास सहितको दृढ सङ्कल्पका साथ कार्यप्रति आफूलाई उत्साहजनक रूपमा अगाडि बढाइरहनुपर्छ । यसो गरे मात्र एक दिन अवश्य सफल व्यक्तिको सूचीमा आफूलाई पनि उभ्याउन सक्दछ ।

हरेक विद्यार्थीले आफ्नो सक्षमताको आधारमा परिपूर्ति गर्न सक्ने किसिमको दिवा सपना देख्नुपर्छ । सक्षमता भन्नाले व्यक्तिको ज्ञान, सीप र इच्छा शक्तिको समग्रतालाई बुझाउँछ । जसले सफलता हासिल गर्न मद्दत गर्छ । विद्यार्थीले आफ्नो सक्षमताको स्तर अभिवृद्धि गर्दै लैजानुपर्छ । यसले उसको सपनाको स्तर पनि बढाउँदै लैजान्छ र अन्ततः उसलाई सफलताको शिखरसम्म पु¥याउँछ । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी मोहम्मद अलीका अनुसार उपलब्धि हासिल गर्नका लागि व्यक्तिको इच्छा शक्तिले तुलनात्मक रूपमा ज्ञान र सीप भन्दा बढी महत्व राख्दछ । यो रहुञ्जेल व्यक्तिमा केही गर्ने आश र आँट रहन्छ ।
सामान्यतया हरेक व्यक्ति जन्मदा आमाको कोखमा नौ महिना बास बसेरै जन्मन्छन् । तर, जन्मिसकेपछि उनीहरूमध्ये थोरै सफल र धेरै असफल हुन्छन् किन ? कारण एउटै मात्र छ । त्यो हो उनीहरूले देखेको सपना । व्यक्तिले देख्ने सपना उसको सोचाइको स्तर र आँटले निर्धारण गर्छ तर सोचाइको स्तर भने व्यक्ति, परिवार, समाज, देश, जीवन र जगत् प्रतिको बुझाइमा भरपर्छ । बुझाइको लागि शिक्षा अनिवार्य सर्त हो । त्यसैले हरेक विद्यार्थीले इच्छा पहिचान गर्न र सो प्राप्तिका लागि ठूलो सपना देख्न र बोक्न सम्बन्धित विषयवस्तुको स्पष्ट ज्ञान र म सक्छु भन्ने हिम्मत गर्न आवश्यक छ ।

जीवन रूपान्तरण गर्ने सपना व्यक्तिको मन मष्तिष्कमा त्यसै बन्दैन । यस्तो किसिमको सपना कुनै विशेष घटना वा कारण वा उपलब्धिको चाहनाले सृजना गर्न सहयोग गर्दछ । यसले व्यक्तिलाई हरदम हरपल जिम्मेवार भई निरन्तर कार्यमा संलग्न रहन उत्प्रेरित गरिरहन्छ । सपना बोकेका व्यक्तिले आफ्नो क्रियाकलापहरू फरक ढङ्गले गर्न चाहन्छन् । जसले प्रारम्भबाट नै उसको परिचय निर्माण गर्न मद्दत गर्दछ । त्यसैले हरेक विद्यार्थीले अर्थपूर्ण जीवनका लागि सपना अनिवार्य सर्त हो भन्ने कुरा अन्तर मनबाट स्वीकार्न गर्नु नै महानता ठहरिनेछ ।

आजका अधिकांश विद्यार्थीहरूले माथि उल्लेखित कुराहरूको बारेमा जानकारी प्राप्त गरेका हुन्छन् तर स्पष्टसँग बुझेका भने हुँदैनन् । यदि साँच्चै बुझ्न नचाहेका हुन् भने एउटा कुरा स्पष्ट हुन्छ कि उनीहरूमा विषयवस्तु प्रतिको वास्तविक रुचि सृजना नभएकै हो । रुचि सृजना नहुँदा विषयवस्तु प्रतिको महŒव घट्नु र जबरजस्ती रुचि विनाको कार्यमा संलग्न हुँदा त्यसप्रति आत्मविश्वास र मनोवैज्ञानिक डर बढ्नु स्वाभाविक नै हो । यस्ता विद्यार्थीहरूलाई हरेक शिक्षकले रुचि सृजना गर्नका लागि अन्तिम विकल्प अध्ययन नै हो भन्दै सो को बोध गराई थप अध्ययन गर्ने किसिमको सपना देख्न उत्साहित गरिरहनुपर्छ । तर, रुचि सृजना गर्ने विद्यार्थीहरूको हकमा भने उक्त विषयवस्तुलाई नै आधार मानेर ठूलो सपना देख्न हौसला प्रदान गर्नुपर्छ । जसले उसको जीवनमा महŒवपूर्ण भूमिका खेल्दछ ।

नेपाली समाजको संस्कृतिलाई अध्ययन गर्ने हो भने यस संस्कृतिमा हुर्केका अधिकांश नेपालीहरूको मन ढुङ्गाजस्तै कडा छ । अर्थात् उनीहरू आफू अनुकुल विचार सृजना भए स्वीकार गर्ने तर त्यसको विपरीत फरक विचार सृजना भए विल्कुलै स्वीकार गर्दै नगर्ने मानसिकताले हाम्रो समाजमा जरा गाडेको पाइन्छ । राम्रो विचार वा व्यक्तिलाई भन्दा हाम्रोलाई प्राथमिकता प्रदान गर्ने गलत संस्कार बोकेको नेपाली सामाजिक मनस्थिति परिवर्तन नहुञ्जेलसम्म समाजमा चाकडी र चाप्लुसी गर्ने प्रथा मौलाउँदै जान सक्छ तर ज्ञानको महत्व भने बढ्न सक्दैन । हो, यस्तो परिवेशमा हुर्केका विद्यार्थीहरूलाई पढाइप्रति ध्यानाकर्षण गराउन कठिन छ तर असम्भव भने पक्कै छैन ।

त्यसैले हरेक शिक्षक तथा अभिभावकले समाजमा फरक विचार सृजना गर्ने व्यक्ति र उसको विचारलाई सम्मान गर्ने बानीको विकास गर्नुपर्छ । जसले विद्यार्थीहरूको मानसपटलमा रहेको गलत संस्कारलाई अन्त्य गर्दै सकारात्मक सोचाइको विकास गरी पढाइप्रति ध्यानाकर्षण गराउन मद्दत गर्दछ । शिक्षकले आफ्ना विद्यार्थीहरूलाई जीवनमा ज्ञानको महŒव बोध गराउँदै उनीहरूको रुचिअनुसारको सपना देख्न र बोक्न सिकाउनुपर्छ । बोकेका सपना साकार पार्नका लागि आवश्यक आचारसंहिता र असल आचरण निर्माण गर्न मद्दत गर्नुपर्छ ।

उनीहरूको भित्री शक्ति जगाई प्रभावकारी कार्यान्वयन गर्नका लागि नियमित रूपमा उत्प्रेरित गरिरहनु पर्दछ ।
सपना सार्थक बनाउने उपायहरू
क) नकारात्मक विचार सृजना गर्ने व्यक्ति वा साथीभाइहरूबाट टाढा रहने तथा सकारात्मक विचार सृजना गर्नेसँगको सामिप्यता बढाउँदै लैजाने ।
ख) फरक विचार सृजना गर्ने व्यक्ति र उसको विचारलाई सम्मान गर्ने भावनाको विकास गर्नुका साथै उपयुक्त ज्ञान प्रदायक विचारहरू स्वीकार गर्दै जाने ।
ग) स्पष्ट लक्ष्यसहितको स्पष्ट योजना, नीति र रणनीति निर्माण गरी परिणाम उन्मुख क्रियाकलापहरू प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने ।
घ) कार्य सम्बन्धमा वैचारिक स्पष्टता, स्थिरता, धैर्यता र जिम्मेवारिताको बोध गर्दै त्यसमा निरन्तरता प्रदान गर्ने ।
ङ) तार्किक शक्तिलाई अनुपयुक्त समय र स्थानमा प्रयोग नगर्ने ।
च) जानकारीको आधारमा होइन ज्ञानको आधारमा सपना साकार हुने किसिमले निर्णय गर्ने।
छ) जीवनमा सपनाको नाममा कम प्रतिबद्धता जाहेर गर्ने तर प्राप्तिका लागि भने लक्ष्य उन्मुख अथक प्रयास गर्ने।
ज) गलत संस्कार र यसले निर्माण गर्ने सङ्कुचित मानसिकतालाई त्याग्दै सक्षमताको विकास गर्दै लैजाने ।
झ) सपना पूरा गर्न व्यक्तिमा चाहिँने आत्मविश्वास, दृढसङ्कल्प, निरन्तरता सहितको जाँगरिलो परिश्रम र धैर्यता बढाउँदै लैजाने।
ञ) समयको उचित व्यवस्थापन गर्दै उच्च व्यक्ति बन्ने भन्दा उच्च कार्य गर्ने मानसिकता विकास गर्ने।
ट) मन, बुद्धि र शरीरका बीचको सन्तुलन कायम राख्दै विगतका कार्य तथा परिणाम तर्फ नफर्की निरन्तर अगाडि बढ्न सक्ने किसिमको आचरण निर्माण गर्ने ।
ठ) क्षणिक भावनात्मक आवेगमा आउँदै नआउने ।

सफल जीवनको मुख्य आधार नै सपना हो । सपना विनाको जीवन पूर्ण रूपमा निरस रहन्छ । अर्थात् जीवन पशु समान रहन्छ । त्यसैले जीवन र सपना बीचको प्रेम सम्बन्ध प्रगाढ हुनु जरुरी छ । जीवनमा ठूलो सपना पूरा गर्न गाह्रो छ तर असम्भव भने पक्कै छैन । सपना पूरा गर्नका लागि भगवान् सँग भर पर्नुपर्दैन । भगवान् समक्ष निर्दोष पशुपंछी काटमार गर्छु वा चढाउँछु भनी भाकल गर्नुको कुनै अर्थ छैन। भगवान्ले हामीलाई जन्मसँगै अदृश्य अद्भुत क्षमता प्रदान गर्नुभएको छ । जसलाई चिन्नु र निखार्नु नै भगवान् प्रतिको सच्चा आस्था र विश्वास रहेको ठहरिन्छ ।

विद्यार्थीले एकबार पाएको अमूल्य आफ्नो मनुष्य जीवनलाई अर्थपूर्ण बनाउने प्रण गर्नैपर्छ । यसको लागि उसले आफ्नो गलत आचरणले भरिएको मानसिकता, यदि भएमा, बदल्नैपर्छ । विद्यार्थीले आफ्नो सक्षमतामा आधारित भएर ठूलो व्यक्ति बन्ने भन्दा ठूलो कार्य गर्ने सपना देख्ने र बोक्ने बानीको विकास गर्नुपर्छ र सपना पूरा नहुन्जेलसम्म निरन्तर लागिरहनु पर्दछ । हुन सक्छ सपना पूरा गर्नका लागि जीवनमा निरन्तर लागिरहँदा पनि सफलता प्राप्त हुन सक्दैन। यस्तो अवस्थामा जीवनको लागि सफलता वा असफलता भन्दा पनि निरन्तरता धेरै महŒवपूर्ण हो भनी बुझ्नु बुद्धिमानी ठहरिनेछ । त्यसैले हरेक विद्यार्थीले यस्तो प्रकारको सोच विकास गर्दै जाने हो भने अवश्य उसले आफ्नो जीवनमा सफलतासँगै खुशी पनि प्राप्त गर्न सफल हुन्छन् ।