पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरक्षेत्रमा डेङ्गु रोगबाट सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढिरहेपछि त्यसबाट बच्ने उपायका बारेमा जनचेतना अभिवृद्धिका लागि दलित सेवा सङ्घले अभियान थालेको छ ।

नगरपालिका कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोलासहितले अभियानको उद्घाटन गर्दै पर्चा वितरण गरेका छन् ।

नगरप्रमुख राईले आफ्नो घर र घर वरपर सफा पानी जम्न नदिने कुरामा ख्याल गरेर डेङ्गुबाट मुक्त हुन सकिने बताउँदै नगरवासीलाई त्यसखाले कुरामा सचेत रहन आह्वानसमेत गरेका छन् । उनले भने, ‘हामी आफ्नै कारणले पनि डेङ्गुको शिकार भइरहेका छौं ।’ उनले बजारबासी मानिसहरू आफै बढी सचेत हुनुपर्ने बताउँदै थपे, ‘आफ्नो घरमा राखेको फ्रिज, एसी, गमलामा स्थिर भएर बसेको पानी फेरौं । बरु त्यहाँ अलिकति मट्टितेल हालिदिउँ लामखुट्टेले फूल पार्न पाउँदैन । अनि आ–आफ्ना घरअगाडि टायर, टोक्री तथा पानी जम्ने ठाउँहरू नराखौं ।’

नगरमा डेङ्गु रोग बढिरहेको अवस्थामा यसबाट बच्ने सचेतनाका लागि तयार पारिएको पर्चा वितरण गर्दै वडानम्बर १ को पथरी बजारमा माइकिङ गरी पर्चा वितरण गरिएको सङ्घका नगरअध्यक्ष रामप्रसाद परियारले जनाए । डेङ्गुबाट जनप्रतिनिधि, समाजसेवीहरूलाई समेत बिरामी परेको अवस्थामा सफा र स्थिर पानी जम्ने ठाउँहरू नष्ट गर्न लाग्नुपर्नेमा सङ्घले जोड दिँदै डेङ्गुका लक्षण र त्यसबाट बच्ने उपायका बारेमा पर्चामा उल्लेख गरेको छ । पथरी बजारपछि आवश्यकताअनुसार अन्य वडामा पनि कार्यक्रम गर्ने सङ्घले जनाएको छ ।

पथरीस्थित मोरङ अस्पतालका डा. उमेश गुरागाईंको प्राविधिक सहयोगमा जनचेतनामूलक कार्यक्रम अघि बढेको छ । गुरागाईंले सो अस्पतालमा मात्र आफूले जाँच गर्दै आएका बिरामीमध्ये पछिल्ला ३ महिनाको अवधिमा १ सय ५ जना डेङ्गुको बिरामी फेला परेको दाबी गरे । उनले पनि डेङ्गुबाट बच्न उसको बासस्थान सुरक्षित बन्न नदिन स्थानीय आफै बढी सचेत बन्नुपर्ने सुझाव दिए । उनले भने, ‘फगिङले पनि सार्वजनिक ठाउँका लामखुट्टे नष्ट भए पनि घरभित्रका पानीका स्रोतमा बासस्थान बनाएका चाहिँ नष्ट नभएको अवस्था पनि देखिएको छ ।’

यता नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले पथरी नगर अस्पतालबाट समेत केही जनामा डेङ्गुको परीक्षण गरिएको बताए । उनले बाहिर चर्चा गरिएजस्तो डेङ्गुको महामारी नभए पनि यसको रोकथाममा थप उपाय अपनाउनु पर्ने आवश्यकता महसुस गरेका छन् । ‘फेरि फगिङ पनि गर्नुपर्ला र स्थानीयलाई थप सचेत बनाउनु पर्ला’– उनले भने । यसअघि नगरपालिका कार्यालयले सबैजसो वडामा फगिङ स्प्रे गरेर लामखुट्टे नष्ट गर्ने अभियान थाले पनि सो त्यति प्रभावकारी बन्न सकेको छैन ।