उदयपुर । पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउका लागि ऐतिहासिक चौदण्डीगढी दरबार संरक्षणमा पालिकाले तीव्रता दिएको छ । नगरसभाबाट बजेट विनियोजन गरेर दरबारलगायतका पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धनको लागि चौदण्डीगढी नरपालिकाले तीव्रता दिएको हो ।

घुम्नै पर्ने सयवटा गन्तव्यभित्र नपरे पनि पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धनको लागि पालिकाले नगरसभाबाट ९० लाख बजेट विनियोजन गरेर काम अगाडि बढाएको चौदण्डिगढी नगरपालिका मेयर खगेन्द्र राईले बताए । पर्यटन वर्ष आउनै लाग्दा ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्रमा सरसफाई गरी पर्यटन वर्षलाई सफल बनाउन लागिपरेको मेयर राईले बताए ।

चौदण्डीगढीमा वि.सं. १८२६ देखि लोहाङ सेन र हेमदत्त सेनजस्ता सेनवंशी राजाले राज्य गरेको स्थानीय बुढापाकाहरूले बताएका छन् । गढीमा भग्नावशेष दरबार क्षेत्र र दरबार बनाउन प्रयोग भएको ईटा र त्यतिबेला अन्न कुट्न पिस्न प्रयोग गरेको ओखल लगायतका वस्तु मात्रै रहेको स्थानीयले बताएका छन् ।

नगरको पर्यटकीय स्थलमध्ये सबैले चिनेको गढी नै भएकाले पनि नगरले बढी यसलाई नै ध्यानमा राखेर काम गरेको छ । पर्यटकीय स्थल संरक्षण तथा प्रवद्र्धनको लागि डिटेल सर्वे गरेर गुरुयोजना भित्र भएकाहरूलाई पनि टेवा पुग्ने खालको छुट्टै गुरुयोजना बनाउने तयारी समेत गरिरहेको मेयर राईले बताए ।

पर्यटकीय स्थलहरूको संरक्षण, मर्मत सम्भार र गुरुयोजनाको काममा पालिका लागि परेको छ । अहिले नेपाली सेनासँग पनि समन्वयन गरेर काम गरको मेयर राईले बताए । नेपाली सेनाले निकै महत्वका साथ चासो राखेकाले समन्वय गरेर पर्यटकीय विकासमा अघि बढेको मेयर राईले बताए ।

भ्यूटावरको निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यसको प्रतिक्षालय, शौचालय र बगैँचा चाँडै निर्माण गरी सञ्चलनमा ल्याउने मेयर राईले बताए । त्यसमा दुरविन समेत राख्ने सोच बनाएको मेयर राईले बताए । दुरविनको सहायताले खुल्ला आँखाले देख्न नसकिने रमणीय स्थलको अवलोकन गर्न सकिने भएकाले दुरविनको व्यवस्था गर्न लागेको मेयर राईले बताए ।

पर्यटन विकासको लागि होमस्टे व्यावस्थापनको लाग सोचेका छौँ । जसका लागि कञ्चनपुर र रानीटारलगायतका स्थानको अध्ययन गरिरहेका छौँ । यदि कञ्चनपुरमा भयो भने तामाङ समुदाय र रानीटार आसपास भएमा राई र माझी समुदायको हुने मेयर राईले बताए । होमस्टेका लागि विस्तृत रूपमा अध्ययन गरिरहेको मयेर राईले बताए ।

अहिले गढीमा होटेल सञ्चालन शुरु भएकाले बाहिरबाट आएका पर्यटक अतिथिहरूलाई खाजा नास्ताको लागि सहज भएको छ । अब पहिलाको जस्तो पानी बेल्टारबाट बोकेर लानुपर्ने बाध्यता हटेको उनले बताए । गढीमा खानेपानी व्यवस्थापन गर्नका लागि सङ्घीय सांसद डा.नारायण खड्काको संसदीय क्षेत्र विकास कोषबाट लिफ्टीङ खानेपानी आयोजना शुरु गरेको मेयर राईले बताए ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले ९० लाख बजेट दिएकाले उक्त बजेटबाट आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको मयेर राईले बताए ।
आयोजनाको ट्याङकीदेखि सिधा करिब १ किलोमिटर दूरीको मुहान रहेको छ । अहिले आयोजनाको विद्युत् विस्तार, ३० हजार लिटरको ट्याङकी निर्माण, पाइप विस्तारलगायतका काम सम्मन भएको मेयर राईले बताए ।

अबको केही महिनाभित्र गढीमा खानेपानीको अहिलेको जस्तो समस्या नहुने उनले बताए । पालिकाले पर्यटक भिœयाउने उद्देश्यले गढीसम्म पुग्नका लागि सडक विस्तार र मर्मत कार्य भएको पालिकाले जनाएको छ । अहिलेको अवस्थामा वर्षायाममा पनि गढी सहज रूपले पुग्न सकिने भएको मेयर राईले बताए । पर्यटन विकासका लागि खानेपानी, सडकजस्ता भौतिक पूर्वधार अति आवश्यक हुने भएकाले तिनको विकासमा विशेष जोड दिएको उनले बताए ।

पालिकाको मुगल राज्यको दरबार क्षेत्र बसाहा, भीमसेन थान, छुईला झर्ना, फुर्के गढी, नागदह, कञ्चनपुर जोडी वर लगायतका पर्यटकीय स्थलको पहिचान गरी गुरुयोजनामा समेटेर संरक्षण तथा प्रवद्र्धन गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । करिब४ वर्ष पहिले४३ फिट अग्लो भ्यूटावर निर्माण कार्य शुरु भएको चौदण्डीगढी नगरपालिका–१ नम्बर वडाका वडाध्यक्ष रोहितमान तामाङले बताए ।

करिब ६५ लाखमा सम्पन्न भएको भ्यूटावरको प्रतिक्षालय, शौचालय र बगैँचा निर्माण गर्न बाँकी रहेको वडाध्यक्ष तामाङले बताए । उक्त भ्यूटावरबाट उत्तरमा खोटाङको र भोजपुरको विभिन्न अग्ला ठूला डाँडासहित हिमालसमेत खाली आँखाले अवलोकन गर्न सकिने वडाध्यक्ष तामाङले बताए ।

त्यस्तै दक्षिणमा चुरे पहाडदेखि समथर पहाड र पूर्वमा मैनामैनी डाँडालगायत सप्तकोशी, इटहरी, प्रकाशपुर र पश्चिममा रौताडाँडालगायतका रमणीय स्थलहरूको सहज रूपले अवलोकन गर्न सकिने वडाध्यक्ष तामाङले बताए ।

लिफ्टीङ खानेपानी आयोजनाको मुहानभन्दा माथि रहेका करिब ३ सय २५ घर धुरीले आयोजनाको पानी उपभोग गर्ने वडाध्यक्ष तामाङलेब बताए । गढीलाई सरसफाइसँगै वरिपरि बगैँचार र आधुनिक घेराबेरा गर्न पालिका लागि परेको वडाध्यक्ष तामाङले बताए ।