धरान । पूर्वको प्रतिष्ठित बुढासुब्बा गोल्डकपको २२ औं संस्करण मङ्सिरमा हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घले जारी गरेको नियमावली अनुसार बुढासुब्बा गोल्डकपको २२ औं संस्करण मङ्सीरको तेस्रो सातादेखि गर्ने भएको हो । एन्फाले दिएको ‘सेड्युल’ अनुसार आयोजक धरान फुटबल क्लबको बिहीबार बसेको बैठकले मङ्सीर १९ गतेदेखि २८ गतेसम्म गर्ने निर्णय गरेको क्लबका महासचिव प्रताप तामाङले जानकारी दिए ।

धरान रङ्गशालामा हुने प्रतियोगिताका लागि विभिन्न उपसमिति गठन गरिसकेको छ । त्यसका लागि क्लबका सदस्य नरेन्द्र चोङबाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक उपसमिति गठन गरिएको महासचिव तामाङले प्रेश विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । मैदान मर्मतका लागि क्लबका सचिव सुदीप उप्रेतीको संयोजकत्वमा दुई सदस्यीय मैदान मर्मत उपसमिति गठन गरेको छ ।

टिम तथा होटल व्यवस्थापनका लागि क्लबका सदस्य सतिस केसीको संयोजकत्वमा तनि सदस्यीय उपसमिति गठन गरिएको छ । प्रचार प्रसारका लागि भने क्लबका महासचिव प्रताप तामाङको संयोजकत्वमा दुई सदस्यीय समिति गठन गरिएको छ । २२ औं संस्करणमा पुरस्कार राशिमा समेत वृद्धि गरिने जानकारी दिएको छ । प्रतियोगिता तयारीका लागि असोज ५ गतेदेखि सचिवालयले काम शुरु गर्ने विज्ञप्तिमा उल्लेख छ ।