धरान / गैर नेपालीलाई नागरिकता दिएको आरोप लागेका कर्मचारी, वडा अध्यक्ष, टोली प्रमुख, स्थानीय, एजेन्ट गरी ४६ जनाको नाममा प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट १६ जना गैर नेपालीलाई नागरिकता दिएको घटनामा झापा जिल्ला अदालतबाट पुर्जी जारी भएको हो । अदालतबाट भदौ १३ गते जिल्ला प्रहरीले पक्राउ अनुमति प्राप्त गरेको थियो । पत्रका आधारमा खटिएको प्रहरी टोलीले सोहीदिन प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपाने, बिर्तामोड नगरपालिका ८ नम्बर वडा कार्यालयका वडा सचिव लोकराज बराल, बिर्तामोड ५ बस्ने टेकबहादुर गुरुङ, भद्रपुर १० बस्ने प्रेम तिम्सिना र भद्रपुर १० धनुषमोड बस्ने बिकेन्द्र भन्ने भीमबहादुर लिम्बुलाई पक्राउ गरिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका पाँचै जनालाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको उनले बताए ।
पक्राउ पर्न बाँकी रहेका बिर्तामोड नगरपालिका ८ नम्बर वडा अध्यक्ष अजय कार्की, भद्रपुर नगरपालिका ९ नम्बर वडा अध्यक्ष शनिलाल राजवंशी, प्रशासन झापाका अधिकृत गौरव ढुङ्गेल, नायव सुब्बा मेघराज निरौला, प्रशासकीय अधिकृत चूडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, भद्रपुर नगरपालिका ९ नम्बरका वडा सचिव अरुणा भट्टराई, तत्कालीन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपाने लगायत रहेका छन् । फरार रहेका आरोपितलाइ पक्राउ गर्न प्रहरी परिचालन गरिसकेको एसपी दिनेशराज मैनालीले बताए ।
विदेशीलाई नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्ति, झुटो र किर्ते प्रमाणपत्र खडा गरी वा बनाई प्रचलनमा ल्याउने लगायतका कार्य गर्ने गरेको भन्ने गृह मन्त्रालयमा उजुरी प्राप्त परेपछि गृह मन्त्रालयले प्रशासन कार्यालय झापामा २०७६ असार ३ गते छानबिन शुरु गरेको थियो । गृहले सोही मितिमा थप अनुसन्धानका लागि सिआइबीलाई जिम्मा दिएको थियो । गृहको आदेश बमोजिम सिआइबीले नागरिकताको विषयमा छानबिन गरेको राय भदौ २ गते गृहमा पेस गरेको थियो । गृहले सिआइबीको राय बमोजिम प्रशासन कार्यालय झापामा भदौ ५ गते पत्र पठाएको थियो । त्यसपछि प्रशासन कार्यालय झापाले प्रहरी कार्यालय झापालाई भदौ ८ गते पत्र पठाएको र भदौ १३ गते झापा अदालतमा मुद्दा दर्ता भएको प्रहरी जनाइएको छ । पक्राउ पुर्जीको बारेमा प्रहरी कार्यालय झापाले भदौ १३ गते नै बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकालाई बोधार्थ पत्र पठाइसकेको छ ।
१६ गैर नेपालीलाई नागरिकता दिँदा प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेले सनाखत गराएको, नायव सुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप लगाइएको छ भने, अधिकृत ढुङ्गेलले सही गरेर नागरिकता जारी गरेको अहिलेसम्मको छानबिनमा देखिएको प्रहरीले जनाएको छ । नागरिकता जारी गर्दा झुठ्ठा विवरण बनाउँदा टेकबहादुर गुरुङ र रिना गुरुङलाई नौ जनाको बाबु आमा एउटै कायम गरिएको छ भने विभिन्न एजेन्ट र बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको खुलेको छ ।