भद्रपुर । झापाको हल्दीबारी गाउँपालिकाले गरेको निर्णय शिक्षा विकास तथा समन्वय इकाइ झापाले कार्यान्वयन नगर्न सामुदायिक विद्यालयलाइ पत्रचार गरेको विषयलाइ लिएर गाउँपालिकाले आपत्ती जनाएको छ ।

संविधानमार्फत प्राप्त अधिकारलाई कानूनबमोजिम स्थानीय तहले व्यवहारमा कार्यान्वयन गरिरहेको वेला शिक्षा विकास समन्वय इकाइले मङ्गलबार विद्यालयलाइ पठाएको पत्रप्रति पालिकाको गम्भिर ध्यानाकर्षण भएको हो । विद्यालयमा पत्र पुगेपछि पालिकाले मङ्गलबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै संविधान मार्फत प्राप्त अधिकारलाई कानूनबमोजिम स्थानीय तहले व्यवहारमा कार्यान्वयन गर्दा सम्वद्ध पक्षले सहयोग गर्नुको सट्टा अनेक वहाना देखाई शिक्षा विकास तथा समन्वय इकाइ झापाले गाउँपालिका मातहतका विद्यालयहरुलाई सोझै पत्राचार गरी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्ने आशय जस्तै,हाल रमाना नदिनु र हाजिर नगराउनु भनी माग गरिएको पत्राचार प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

पालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष डम्बरबहादुर गिरीले हस्ताक्षर सहित विज्ञप्ती जारी गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला निकायहरुबीच समन्वयकारी भूमिका निर्वाह गरी संवैधानिक एवम् कानूनी प्रावधानको पालना गर्नु पर्नेमा सोको वर्खिलाप स्थानीय तह र विद्यालयवीच संस्थागत दुरी बढाउने भूमिकामा तल्लीन यस कार्यमा संलग्न पक्षलाई कारबाहीको दायरामा ल्याउन सम्वद्ध निकायमा हार्दिक अनुरोध गर्दछौं भनी उल्लेख गरिएको छ ।

संविधानको धारा ५६ को उपधारा (२) मा नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीयतहले संविधान तथा कानूनबमोजिम गर्नेछन् भनी व्यवस्था भएको छ । त्यसैगरी नेपालको संविधानको धारा ५७ मा राज्य शक्तिको बाँडफाँडको बारेमा व्यवस्था गरिएको र उक्त धाराको उपधारा (४) मा स्थानीय तहको अधिकार अनुसूची ८ मा उल्लेखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र गाउँ सभा र नगर सभाले बनाएको कानून बमोजिम हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको छ । जस अनुसार संविधानको अनुसूची ८ मा उल्लेखित विभिन्न २२ वटा विषयमध्ये आधारभूत र माध्यमिक शिक्षा पनि एकल अधिकारको विषय भित्र पर्दछ ।

स्थानीय तहलाई प्राप्त एकल अधिकारको प्रयोग संविधान र गाउँ सभा र नगर सभाले बनाएको कानून बमोजिम हुनेछ भन्ने व्यवस्था अनुरुप २०७५ साल असारमा सम्पन्न हल्दीबारी गाउँपालिकाको दोस्रो गाउँ सभा अधिवेशनले आधारभूत र माध्यमिक शिक्षाको विषयलाई व्यवहारमा कार्यान्वयन गर्न हल्दीबारी गाउँपालिकाको शिक्षा नियमावली, २०७५ सर्वसम्मत पारित भई हल्दीबारी क्षेत्रभित्र लागू समेत भई सकेको अवस्था छ ।

उक्त नियमावलीको नियम ५७ मा गाउँपालिका भित्र एक विद्यालयबाट अर्को विद्यालयमा शिक्षक सरुवा गर्न सकिने प्रावधान रहेको एवम् शिक्षक सरुवा सम्बन्धी मापदण्डको समेत स्पष्ट व्यवस्था भएको र सोही नियमावलीको उपनियम (६) को खण्ड (झ) मा कार्यपालिका वा गाउँशिक्षा समितिले शिक्षक सरुवाको अन्य मापदण्ड तोक्न सक्ने व्यवस्था समेत उल्लेख छ । सोही बमोजिम हल्दीबारी गाउँ कार्यपालिकाले भदौ २३ मा बसेको बैठकले उल्लेखित मापदण्ड एवम् मौजुदा अवस्था समेतको विश्लेषण गरी गाउँपालिका क्षेत्रभित्र अन्तर विद्यालय शिक्षक सरुवा गर्ने गरी गाउँ शिक्षा समितिका अध्यक्षको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई अधिकार प्रत्यायोजन समेत गरेको थियो ।

उल्लेखित निर्णयलाई आधार मान्दै तत्काल अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न १३ जना शिक्षकहरुलाई अन्तर विद्यालय काम काज गर्न खटाउन पठाउने गरी निर्णय समेत भएको थियो । शिक्षा विकास तथा समन्वय इकाइले गाउँपालिकालाइ बोदार्थ समेत नदिएर दुरी बढाएको उपाध्यक्ष गिरीले बताए । पालिकाले गरेको निर्णय नउल्टिने भएकोले गाउँपालिकाको कामकाजमा खटाउने विषयक उल्लिखित निर्णय कार्यान्वयनमा लाग्न सम्वद्ध सम्पूर्ण सामुदायिक विद्यालय र शिक्षक साथीहरुलाई यसै विज्ञप्ती मार्फत अनुरोध गरिएको उनले जनाए ।