विराटनगर/ विराटनगर–११ का १४ वर्षीय कुहिरा भन्ने विशाल सहनीसहित पाँचजनाको समूहले विराटनगर–१९ का राहुल भगतलाई पेट र छातीमा छुरा प्रहार गरेर गतवर्षको कार्तिक २ गते दशैंको बेला हत्या गरे ।

विशालको समूहले चाडपर्वको अवसर पारेर लागेको मेला घुम्ने क्रममा दुव्र्यवहार गरेको रिस फेर्न भगतको हत्या गरेका थिए । हत्यामा संलग्न पाँचै जना बालक थिए । प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको थियो । कलिला बालबालिकाहरू जघन्य अपराधका घटनामा कसरी संलग्न भइरहेका छन् भनेर देखाउने प्रतिनिधिमूलक घटना हो यो ।

पछिल्लो समय बालबालिकाहरू जघन्य प्रवृत्तिका अपराधमा संलग्न हुने क्रम बढिरहेको छ । बाल अवस्था एकदमै संवेदनशील अवस्था हो । यस्तो अवस्थामा उनीहरूलाई अभिभावकले बेलैमा निगरानी नगर्दा कुलतमा फसेर जघन्य अपराध गर्नसम्म पुग्छन् ।

१४ जिल्ला रहेको प्रदेश १ मा भएका आपराधिक घटनामा मोरङमा बालबालिकाको संलग्नता धेरै रहेको प्रहरीको अभिलेखले देखाएको छ । एक वर्षमा अन्य जिल्लाको तुलनामा अपराधमा मोरङमा बढी बालबालिकाको संलग्नता देखिएको हो ।

बालबालिकाको संलग्नतामा अपराध हुने जिल्लामा झापा दोस्रो र सुनसरी तेस्रो स्थानमा छ । मोरङ, झापा र सुनसरी प्रदेश १ का तराईका जिल्ला हुन् । १८ वर्ष मुनीकालाई कानूनले बालबालिका मानेको छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशभरि १ सय ६४ जना बालबालिका आपराधिक घटनामा संलग्न रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कले देखाउँछ । जसमध्ये मोरङमा ६४, झापामा ६१ र सुनसरीमा २७ बालक अपराधमा संलग्न रहेको तथ्याङ्कले पुष्टि गर्छ ।

अपराधमा संलग्नमध्ये मोरङमा दुई र सुनसरीमा एक बालिका छन् । उदयपुरमा पाँच बालक, ओखलढुङ्गामा दुई, इलाम, पाँचथर, ताप्लेजुङ र खोटाङमा एक–एक जना १८ वर्ष मुनीका बालक आपराधिक घटनामा संलग्न रहेको प्रहरीको अभिलेखमा देखिन्छ ।

प्रहरीको रेकर्डमा धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुमा भने बालबालिकाको संलग्नतामा कुनै पनि घटना भएका छैनन् । बालबालिकाको संलग्नतामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, जबरजस्ती करणी, करणी उद्योग, अभद्र व्यवहार, लागूऔषध, बालविवाह, चन्दा सङ्कलन, अपहरणसमेतका आपराधिक घटना हुने गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए ।

उनले बालबालिकाको संलग्नतामा आपराधिक गतिविधि र घटना पहाडी जिल्लाका तुलनामा तराईमा धेरै भइरहेको जानकारी दिए । ‘पहाडी जिल्लाभन्दा तराईका जिल्लामा भएका आपराधिक घटनामा बालबालिकाको संलग्नता बढी छ’ उनले भने, ‘तराईका जिल्लामा जनसङ्ख्याको अत्यधिक चाप, बाक्लो बस्ती, भारतसँगको खुला सिमाना आदि कारण हुन सक्छन् ।’ अपराधमध्ये कर्तव्य ज्यानमा १३, ज्यान मार्ने उद्योगमा आठ, चोरीमा १०, जबरजस्ती करणीमा २९, करणी उद्योगमा आठ, अभद्र व्यवहारमा ३४, लागूऔषधमा १०, बालविवाहमा चार, बहुविवाहमा तीन, चन्दा सङ्कलनमा एक र अपहरणमा ४१ जना बालकको संलग्नता छ । लागूऔषधमा एक र बालविवाहमा दुई बालिका संलग्न छन् ।

कोइरालाले अभाव र समस्यामा गुज्रिएका बालबालिकाको पहिचान गर्दै आपराधिक गिरोहले कानून विपरीतका काममा बालबालिकाको प्रयोग गर्ने गरेको बताए । ‘प्रहरीले पनि शङ्का नगर्ने भएकाले बालबालिकाको प्रयोग अपराधमा भइरहेको छ’ उनले भने, ‘गरिबी, अशिक्षा र अभावले बालबालिकालाई अपराधमा डोर्याएको पाइयो ।’ कमजोर पारिवारिक आर्थिक अवस्था, पारिवारिक बेवास्ता, शिक्षादीक्षा, अभिभावकको संरक्षण तथा मायाको अभावले बालबालिका अपराधमा लाग्ने गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । बालबालिकाहरूमा कानूनी ज्ञानको कमी हुने भएकाले के गर्न हुन्छ र के गर्न हुँदैन भनेर नबुझ्दा धेरै घटना भएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।

प्रदेश १ का प्रहरी प्रमुख डिआईजी ठाकुरप्रसाद ज्ञवाली सबै कुराले अपरिपक्व हुने हुँदा बालबालिका आफैले भन्दा पनि अपराधमा अरूले प्रयोग गर्ने गरेको बताउँछन् । ‘आफूले के गर्दा कस्तो परिस्थिति उत्पन्न हुन्छ भन्ने कुरा छुट्याउन नसक्ने अवस्थामा अरूले उक्साएर प्रयोग गरिदिन्छन्’ उनले भने, ‘कतिपय बालबालिका संलग्न रहेका घटना आकस्मिक रूपमा पनि भएको पाइएको छ ।’
अपराध गर्ने बालबालिकालाई विराटनगरस्थित बालसुधार गृहमा राखेर अनुसन्धान र कारबाही अघि बढाउने गरिन्छ । कारागार र प्रहरी हिरासतमा राख्न पाइँदैन । डिआईजी ज्ञवालीले अपराधमा बालबालिका संलग्नताको सवालमा पारिवारिक वातावरण, साथी–सङ्गत र उनीहरूमाथि गरिने व्यवहारले पनि असर गर्ने बताउँछन् । अपराधमा बालबालिकाको संलग्नतालाई न्यूनीकरण गर्दै शून्यमा झार्न प्रहरीले जनचेतनामूलक विशेष कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलले बालबालिकामा अचानक स्वभाव परिवर्तन भई रिसाउने, झोक्किने, इन्टरनेटमा बढी झुम्मिने र फिल्म हेर्ने बानी देखिए चिकित्सकको सम्पर्कमा पुग्नुपर्ने बताएका छन् । ‘शान्त स्वभावका बालबालिका कहिलेकाहीँ रिसाउनु स्वभाविक भए पनि पटक–पटक त्यस्तो हुन थाले चिकित्सकलाई देखाउनु पर्दछ’ उनले भने, ‘एक्लै बस्न रुचाउने, ढोका थुनेर आफ्ना नानीहरू बस्छन् भने लागूऔषधका लतमा परेका हुन्छन् । मदिरा र चुरोटको लत लागेका बालवालिका ट्रयाकभन्दा बाहिर जान्छन् । विस्तारै त्यस्ता बालबालिका अपराधमा लाग्न सक्छन्’ –उनले भने । व्यवहारमा अचानक आएको परिवर्तन बुझ्नसके बढी परामर्श र थोरै औषधिबाट गलत बाटोमा जानबाट रोक्न सकिने डा. पोखरेलको सुझाव छ ।