इटहरी/ १४ वर्षीया बालिकालाई जबरजस्ती यौनधन्दामा लगाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

आर्थिक प्रलोभनमा पारेर भोजपुर घर भएकी १४ वर्षीया बालिकालाई इटहरीको दियालो होटलमा यौनधन्दा गराउन बाध्य बनाउने एक युवतीसहित २ जना युवकलार्ई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीले होटल चेकजाँचको क्रममा दियालो होटलबाट १४ वर्षीया बालिकालाई उद्धार गर्दै ३ जनालाई पक्राउ गरेको हो ।

लामो समयदेखि यौनधन्दाले बदनाम हुँदै आएको इटहरीको दियालो होटलमा पुनः यौनधन्दा हुने गरेको भन्दै प्रहरीले छापामार्दा उनीहरू पक्राउ परेका हुन् । बालिकालाई काममा लगाइदिने भन्दै इटहरी ल्याइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । बालिकालाई ललाई फकाई धनकुटाकी आरती केसी भन्ने पवित्रा थापाले परिवारको अनुमति बिनै इटहरी ल्याएको प्रहरीले बताएको छ ।

पवित्राले बालिकालाई हरि भन्ने लक्ष्मण राउत र प्रदीप कोइरालासँग बस्न लगाई यौन कियाकलाप गर्न बाध्य बनाएको अवस्थामा प्रहरी टोलीले चेकजाँचको क्रममा होटलबाटै उद्धार गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । होटलमा युवकहरूसँग रकम लिएर यौनधन्दामा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पवित्राले लामो समयदेखि यौनधन्दासमेत गराउँदै आएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बालिकाको उद्धारसँगै घटनामा संलग्न पवित्रा थापा, हरि भन्ने इटहरी–२ आँपगाछीका लक्ष्मण राउत र इटहरी– ५ का प्रदीप कोइरालालाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसार–पसारमा मुद्दा दर्ता गरिएको छ । उनीहरूलाई ५ दिनको म्याद थप गरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यसअघि पनि दियालो होटलबाटै भारतीय नागरिकसहित यौनकर्मी महिलाहरू पक्राउ परेका थिए । प्रहरी कार्यालयसँगै रहेको होटलले लामो समयदेखि यौनधन्दा चलाउँदै आएको थियो । युवतीहरूलाई भारतीय ग्राहक भिडाएको प्रहरीले जनाएको थियो । एक रातको ४ हजार भारतीय रुपैयाँसम्म लिने गरेको प्रहरी स्रोतले बताएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले होटल व्यवसायीहरूलाई बोलाएर अवैध धन्दा नगर्न निर्देशन दिएका थिए । होटलहरूमा यौनधन्दा भए कसैलाई नछोड्ने भन्दै अवैध धन्दा गर्ने यौनकर्मीहरूलाई इटहरी छोड्न उर्दी जारी गरेका छन् । होटल व्यवसायीहरूले पनि राति अवेरसम्म होटलहरू खोल्नको लागि शान्तिसुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरे ।