भद्रपुर/१० औँ पेसापालो (फिनिस बेसबल) विश्वकप २०१९ मा नेपाली टोलीले भाग लिने भएका छन् ।

आगामी मङ्सिर १० देखि २४ गते (नोभेम्बर २६–३० तारिख) सम्म छिमेकी राष्ट्र भारतको पुनेमा आयोजना हुने पेसापालो विश्वकपमा भाग लिन नेपाली राष्ट्रिय टोलीका लागि खेलाडी छनौट भइसकेको नेपाल पेसापालो सङ्घठनका अध्यक्ष पारसमणि दाहालले जानकारी दिए ।

पेसापालो विश्वकपका लागि छनौटमा परेका झापाका तीनसहित १४ जना खेलाडीलाई झापामै प्रशिक्षण दिइँदैछ । नेपाल पेसापालो सङ्घठनको आयोजना तथा मेचीनगर नगरपालिका कार्यालय र सरस्वती मावि बाहुण्डागीको सहयोगमा खेलाडीहरूलाई बाहुण्डाँगीमा प्रशिक्षण दिने कार्य शुरु भएको हो । आइतबारदेखि शुरु भएको पेसापालो खेलको प्रशिक्षण मङ्सिर ४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

नेपाली राष्ट्रिय टोलीमा विधान पोखरेल, ईश्वर जेसी, रुझन केसी, राजेश मैनाली, सुदिप भुर्तेल, लाक्पा सिंह (हेल्पो), राजु श्रेष्ठ, सङकल्प श्रेष्ठ, सविर श्रेष्ठ, अतीत खनाल, मुकुन्द पौडेल, सुजन उप्रेती, सक्रिय थापा मगर लगायतका खेलाडी छनौट भएका छन् । जसमध्ये मुकुन्द, सुजन र अतीत झापाबाट छनौट भएका खेलाडी हुन् ।

चाडपर्वको बिदा कटौती गरेर ५१ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपाली खेलाडीलाई फिनल्यान्डका पेसापालो प्रशिक्षक मिक्कोले प्रशिक्षण दिने छन् । फिनल्यान्डको राष्ट्रिय खेल पेसापालो भएकाले त्यही देशका प्रशिक्षक मिक्कोलाई बोलाइएर नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिइने नेपाल पेसापालो सङ्घठनले जानकारी गराएको छ ।

प्रशिक्षणदेखि प्रतियोगितामा भाग लिनसम्म १५ लाख बढी खर्च हुने जनाइएको छ । खर्च सरकारबाट नभई विभिन्न सङ्घसङ्गठन र दाताबाट सङ्लन गरेको जनाएको छ । गतबर्ष बङ्गलादेशमा भएका एसियन पेसापालो च्याम्पियन प्रतियोगितामा नेपाली खेलाडीले राम्रो खेल प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गरेको एसियन पेसापालो सङ्घठनका उपाध्यक्ष प्रशान्त दाहालले बताए । पेसापालो फिनल्यान्डको राष्ट्रिय खेल भएकोले नेपाली खेलप्रेमी जनता लागि यो नौलो खेल हो, तर पछिल्लो समयमा यो खेल विश्वभर फैलिन थालिसकेकोले नेपालमा पनि ल्याएको उनले बताए ।

यो खेल बेसवल प्रकारकै खेल हो, खेल पुरुष टिम, महिला टिम वा पुरुष–महिला दुवै टिम गरी तीन वटा टिम बनाएर खेलिन्छ, नेपालमा पुरुष टिम मात्र छ । ‘यो खेलमा १२ जना खेलाडी हुन्छन् । अतिरिक्त २ जना गरी १४ जना खेलाडी सहभागी हन्छन उनले भने । ब्याटिङ् अडरमा १२ र फिल्डिङ्मा ९ जना खेलाडी मैदानमा हुन्छन् यो खेल पनि रनकै आधारमा जितिन्छ ।’ भारतमा हुने पेसापालो विश्वकपमा नेपालसहित १२ वटा राष्ट्रले भाग लिइसकेका छन् ।

विश्वकपमा नेपाली टोलीले उपाधि जित्ने उद्देश्य राखेर दुई महिनाअघि देखि नै प्रशिक्षण दिने कार्य शुरु गरेको सङ्घठनका कोषाध्यक्ष विनेश श्रेष्ठले जानकारी दिए । नेपाली खेलाडीमा पेसापालो खेलको प्रदर्शन र आत्मविश्वास राम्रो छ, त्यही भएर नेपाली खेलाडीलाई प्रशिक्षण दिन आएको फिनल्यान्डका पेसापालो प्रशिक्षक मिक्कोले भने ।