बेलबारी/ मोरङको केराबारी गाउँपालिका वडा नं. ३ स्थित भोगटेनीमा करिब डेड करोडको लागतमा मगर सङ्ग्रहालय निर्माण हुन लागेको छ ।

केराबारीको रमणीय पहाडीभेगमा रहेको भोगटेनीमा प्रदेश सरकारको लगानीमा सङ्ग्रहालय बन्न लागेको हो । मगर समुदायको धर्म संस्कृति र इतिहासको संरक्षण र सम्वद्र्धन गर्दै प्रदेशकै सांस्कृतिक धरोहरका निम्ति सङ्ग्रहालय बन्न लागेको हो । यो सङ्ग्रहालय प्रदेशकै नमूना बन्ने मगर सांस्कृतिक सङ्ग्रहालयका निर्माण समितिका अध्यक्ष महेन्द्र मगर बताउँछन् ।

सङ्ग्रहालय निर्माणका लागि बृहत् परियोजना प्रतिवेदन इटहरीका विक्रमश्रीले निर्माण गरिसकेका छन् । प्रदेश सांसद उपेन्द्र घिमिरेमार्फत् सांसद विकास कोषबाट १ करोड २५ लाख बजेट विनियोजन गरी सकिएको छ । ठेक्का प्रक्रिया सके लगत्तै निर्माण कार्य शुरु हुने अध्यक्ष मगरले बताए । सङ्ग्रहालय निर्माणका लागि केराबारी गाउँपालिकाले पनि चासो देखाएको छ ।

गाउँपालिका अध्यक्ष रोहित कार्की, उपाध्यक्ष शान्तिकुमारी लिम्बू,प्रदेश सांसद उपेन्द्र घिमिरेसहित प्राविधिक टोलीले निर्माण हुने सङ्ग्रालयको स्थलगत अवलोकन गरिसकेका छन् । सङ्ग्रहालय निर्माणको लागि केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने गाउँपालिकाका अध्यक्ष रोहित कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बूले वचन दिइसकेका छन् ।

सङ्ग्रहालयमा सभाकक्ष, मगरका साथसाथै आदिवासी जनजातिहरूका धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका सामग्रीहरू राखिने भएको छ । साथसाथै सङ्ग्रहालय भएको स्थल उच्च भागमा रहेको हुँदा दृश्यावलोकनका लागि अवलोकन यन्त्र राखिने योजना पनि रहेको छ ।

भोगटेनीमा मगर समुदायको लामो समयदेखि निरन्तर बसोबास रहँदै आएको छ । भौतिक पूर्वाधारका विकास सँगसँगै त्यहाँका मानिसहरूले अदुवा अम्लिसो लगायत अन्य नगदेबालीहरू व्यावसायिक रूपमा लगाउँदै आएका छन् । भोगटेनीमा पहिलो पटक मोटर पुगेपछि स्थानीयले भव्य स्वागत गरेका थिए ।

मगर समुदायको मागी पर्व भोगटेनीमा मनाउने क्रममा त्यसक्षेत्रमा सांस्कृतिक सङ्ग्रहालयको सोच विकास भएको मगर सङ्घ प्रदेश १ का प्रतिनिधि पूर्णप्रकाश पूर्वछाने बताउँछन् ।