पाँचथर/ उत्तरपूर्वी पाँचथरको याङ्वरक र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमावर्ती क्षेत्रबाट बहुमूल्य जडिबुटीको चोरी निकासी हुने क्रम घटेको छ ।

पाँचथर–ताप्लेजुङ सीमावर्ती तिम्बुङ पोखरी क्षेत्रलाई बहुमूल्य जडिबुटीको राजधानीको रूपमा लिइन्छ । सो क्षेत्रमा रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा हिमाली संरक्षण मञ्च ताप्लेजुङले सिसी क्यामेरा जडान गरेपछि जडिबुटीको चोरी निकासी कम भएको हो ।

दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को निगरानीका लागि समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रमअन्तर्गत सिसी क्यामेरा जोडिएको हो । जसले जडिबुटीको चोरी निकासी रोक्नसमेत महŒवपूर्ण काम गरेको सो क्षेत्रमा होम–स्टे सञ्चालन गर्दै आएका खड्गबहादुर भण्डारीले बताए ।

भण्डारीका अनुसार खुला सिमानाका कारण सो क्षेत्रबाट ठूलो मात्रामा जडिबुटी भारत र चीनतर्फ चोरी निकासी हुने गरेको थियो । पर्यटकको भेषमा आउनेहरूबाट जडिबुटीको चोरी निकासी हुने गरेको थियो । अहिले त्यो क्रम घटेको भण्डारीले बताए । उनका अनुसार मुख्य गरी भारत र चीनतर्फबाट तस्कर आउने गरेका थिए ।

तिम्बुङ क्षेत्रमा सुनपाती, पदमचाल (केन्जो), पाखनवेद, माइकोपिला, खोकिम, बिखुमा, कुड्की, यार्सागुम्बा, पाँचऔंले, पाखनवेदलगायत दुई सयभन्दा बढी प्रजातिका बहुमूल्य जडिबुटी पाइने स्थानीय बताउँछन् । सो क्षेत्रका मुख्य पाँच स्थानमा सिसी क्यामेरा जडान गरिएको रेडपाण्डा संरक्षणको काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङले जनाएको छ ।