विराटनगर । प्रदेशको वर्तमान सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै आगमी सुरक्षा रणनीति तय गर्दै १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी आइतबार विराटनगरमा सम्पन्न भएको छ ।
१ नम्बर प्रदेशको शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि आगामी दिनमा चाल्ने कदमबारे विशेषरुपमा छलफल भएको बताइएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेश सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिन्छ ।

बैठकमा नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको यस प्रदेशमा प्रभाव तथा उनीहरूको गतिविधिबारे परिषद् बैठकमा विशेष रुपमा उठेको बैठकमा सहभागि सुरक्षा निकाएका एक अधिकारीले जानकारी दिए । प्रदेशको विभिन्न जिल्लाहरूमा चन्दा आतंक, साना हतियार, भारतसँगको खुला सिमाना, लागु औषध सुरक्षा चुनौतीका रुपमा रहेको सुरक्षा अधिकारीहरुले बताए । विशेषगरी झापा, मोरङ, सनुसरीमा विप्लव नेतृत्वको नेकपाको चन्दा आतंक र अर्धभूमिगत गतिविधि बढेको जानकारी सुरक्षा अधिकारीले बैठकमा जानकारी गराएका थिए ।

खुल्ला सिमानाका कारण शान्तिसुरक्षा कायम गर्न समस्या आइपरेको सुरक्षा अधिकारीहरूले बिफ्रिङ पनि गरेका थिए । पहिलो दिन शनिबार मन्त्रालयहरूले कार्यपत्र प्रस्तुत गरेका थिए भने आइतबार १४ वटै जिल्लाका सुरक्षा अधिकारीहरू आ–आफ्नो जिल्लाको सुरक्षा चुनौतिबारे अवगत गराएका थिए ।

संघीय सरकारको गृह र प्रेदश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको अन्तिम दिन सम्बोधन गदै मुख्यमन्त्री शेरधन राईले सुरक्षा व्यवस्था भरपर्दो भएमात्र सुशासन कायम गरि समृद्धि हासिल गर्न सकिने बताए । उनले सबै प्रकारको अपराध नियन्त्रण गरि शान्ति सुरक्षा र सुव्यवस्थापन कायम गरिनुपर्नेमा जोड दिए । सुरक्षा चुनौति बढेको भन्दै मुख्यमन्त्री राईले विप्लप समूहलाई इङकित गर्दै प्रदेशमा चन्दा आतंक बढेको बताए ।