विराटनगर/ विराटनगरमा एक जना डेङ्गु सङ्क्रिमितको मृत्यु भएपछि महानगरपालिकाले डेङ्गु नियन्त्रण गर्न सार्वजनिक स्थलमा विषादी छर्किन शुरु गरेको छ ।

डेङ्गुको विषयमा जनचेतना फैलाउँदै महानगरपालिकाले पाँचौ पटक डेङ्गु नियन्त्रण गर्न विषादी छर्किन शुरु गरेको हो । महानगरपालिका क्षेत्रको सार्वजनिक स्थलमा रहेका विभिन्न सङ्घसंस्थाहरूमा मेलाथिन स्प्रे लगाउन शुरु गरिएको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

शनिबार विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा डेङ्गु नियन्त्रण गरिने विषादी महानगरका प्रमुख पराजुली आफैले लगाए । केही दिन अगाडि डेंङ्गु सङ्क्रमित विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययरत १८ वर्षिय अविनाश शर्माको मृत्यु भएको थियो । महानगर क्षेत्रमा डेङ्गुको सङ्क्रमित हुन नदिन पाँचौं पटक मेलाथिन स्प्रे लगाएको हो ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत एपोलो भगतका अनुसार मङ्गलबारदेखि विराटनगर १, ७ र १० वडामा डेङ्गु नियन्त्रण गरिने विषादी छर्किन शुरु गरेको बताए । शनिबार विराटनरस्थित जिल्ला प्रशासन कार्याल, मालपोत, जिल्ला अदालत, उच्च अदालत र यहाँ रहेका सामुदायिक र निजी विद्यालयहरूमा डेङ्गु नियन्त्रण गरिने विषादी छर्किएको छ ।

महानगरपमा १४ जना डेङ्गो सङ्क्रमित रहेको विराटनगर महानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ । ‘डेङ्गुका सङ्क्रिमित बढ्न नदिन हामीले पाँचौ पटको अभियान शुरु गरेका छौं,’ महानगरका प्रमुख पराजुलीले भने, ‘अहिले विराटनगर क्षेत्रमा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरी अहिले डेङ्गु नियन्त्रण गरिने विषादी छर्किंदै छ । यो पाँचौ पटक हो ।’ थप सङ्क्रमित देखिन सक्ने भएकोले डेङ्गु उत्पादन हुन सक्ने सम्भाव्य ठाउँको खोजी गर्ने र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाइने महानगरले जनाएको छ ।

यस अघि पनि चार पटक महानगरको १९ वटै वडामा जनप्रतिनिधहरू पनि परिचालन गरी डेङ्गु नियन्त्रण गरिने विषादी छर्किसकेको उनले बताए । सुनसरीको धरानमा डेङ्गुको महामारी फैलिएको र विराटनगरमा पनि देखा परेको थियो । विराटनगरमा डेङ्गुका बिरामी भेटिएपछि महानगरले सचेतना र नियन्त्रणको लागि अभियान शुरु गरेको थियो ।

महानगरपालिकाले सबै विद्यालयका शिक्षकलाई बोलाएर विद्यार्थीलाई कक्षा कोठामा डेङ्गुबारे सचेत गर्न र आफ्नो टोल समुदायमा डेङ्गु फैलिन नदिने उपायका बारेमा जानकारी दिन आग्रह गरेको थियो । विद्यार्थीलाई विद्यालयमै डेङ्गु रोग र यसको लक्षण बारेमा जानकारी दिने, त्यसबाट बच्ने उपायबारे सूचित गर्ने र नियन्त्रणका लागि गर्नुपर्ने सामाजिक क्रियाकलापमा सचेत गराएर अभियानलाई निरन्तरता दिइने महानगरका प्रमुख पराजुलीले बताए ।

महानगरपालिकाले सबै नगरबासीलाई आफ्नो घरमा पानी जम्ने थोत्रा पुराना सामान परीक्षण गर्न र त्यसलाई विसर्जन गर्न आग्रह गरेको छ । यस अघि पनि महानगरपालिकाले सबै वडाका टोल तथा सडकमा लामखुट्टे नियन्त्रण गर्न विषादी छर्किँदै आएको थियो ।