सरल, विन्रम र शालीन व्यक्तित्वका धनी, सबैको प्यारो नेपाली सर, विद्यालयका विद्यार्थी हुन् वा सभा समारोह, कार्यक्रममा आतिथ्य ग्रहण गर्दा अथवा हाट बजारमा देख्दा भेट्दा अभिवादन गर्दा होस्, बच्चादेखि वृद्ध सम्म ,महिला पुरुष सबैले बोलाउने प्रचलित तथा लोकप्रिय नाम हो नेपाली सर । उनलाई चिनाउने उनको असली नामभन्दा पनि यही नामले समाजमा उनलाई बहुतजसो प्रतिनिधित्व गर्छ । आदर्श उच्च मावि वराहक्षेत्रका प्रधानाध्यापक नेपाली सर उर्फ प्रह्लाद भट्टराई ।

साविक वराहक्षेत्रको जेठो सामुदायिक विद्यालय आदर्श माविमा शिक्षण त्यसपछि त्यही विद्यालयको प्राचार्य बनेका उनले विद्यालयलाई भौतिक तथा शैक्षिक केन्द्र बनाउन निरन्तर लागि पर्ने, शैक्षिक योद्धा छवि निर्माण गर्दै आएका छन् । नेपाली बोल्नै नजान्ने र गैर नेपाली भाषीको बाहुल्य क्षेत्रमा जन्मी हुर्की प्रह्लाद भट्टराईबाट नेपाली सर बन्नुको पछाडिको प्रेरणादायी तथा रोचक प्रसङ्ग छन् । उनको जन्म २०१९ साल जेष्ठ १३ गते सप्तरी जिल्लाको तत्कालीन इनरुवा फूलबरिया गाउँ पञ्चायत, हालको खरक नगरपालिकामा पिता केदारनाथ तथा माता भावकुमारी भट्टराईको ५ जना दिदीबहिनी र ३ जना दाजुभाइहरूमा माइँलो छोराको रूपमा भएको हो । बाल्यकाल सम्झँदै उनी भन्छन् , सप्तरीमा हुँदा मलाई नेपाली बोल्न निकै गाह्रो हुन्थ्यो, म जन्मेको फूलबरिया गाउँमा मैथिली, थारु भाषाको बाहुल्यता थियो । नेपालीभाषी हामी मुस्किलले दश पन्ध्र घर थियौं होला ।

घरभित्र नेपाली बोले पनि घरबाहिर सम्पर्कको भाषा मैथिली कि थारु हुन्थ्यो । कक्षा ३ सम्म गाउँमा नै पढँे । त्यसपछिको अध्ययन गर्नको लागि स्थानीय चन्द्र माध्यमिक बोधे बर्साइन नमूना विद्यालयमा पढ्न जाने भएँ । तर त्यस विद्यायलमा नाम लेखाउन भने त्यति सरल थिएन । पहिला प्रवेश परीक्षा दिनुपथ्र्यो । उत्तीर्ण भएपछि मात्र पढ्न पाउँथे विद्यार्थीले । मैले कक्षा ३ दोस्रो श्रेणीमा पास गरेको थिएँ । अनि, त्यहाँको जाँच पनि पास गरेपछि मैले त्यहाँ पढाइ शुरु गरे ।

शत्रुघनप्रसाद सिंहले दान दिएको करिब साढे तीन सय विघा जग्गामा बनेको बोधे बर्साइन,नमूना विद्यालयको रूपमा रहेको थियो , त्याहाँ निःशुल्क पढाइ हुन्थ्यो कुनै फिस लाग्दैन थियो । विज्ञानको प्रयोगशाला भिन्दै हुन्थ्यो । पूर्व व्यावसायिकको लागि कोठा बेग्लै, कृषि सामाजिक शिक्षाको लागिभनेर छुट्टै सबै अलगअलग रहेका हुन्थे कक्षा कोठाहरू । मैले अध्ययन गरेको विद्यालय वास्तवमै नमूना थियो । त्यस्तो विद्यालय त अहिलेको हाम्रो विद्यालय पनि छ्रैन त्यति राम्रो थियो–उनले भने । त्यस विद्यालयमा कक्षा ६ सम्म अध्ययन गरेँ । विद्यालयको पठन पाठन हिन्दी भाषामा हुन्थ्यो, शिक्षकहरू प्रायः सबै भारतका हुनुहुन्थ्यो । उहाँहरूलाई मैथिली र नेपाली नआउने, अनि कि त हिन्दी नभएर अङ्ग्रेजीमा पढाउनुहुन्थ्यो, उनी भन्छन् । मैले छात्रवृत्ति पनि पाएको थिएँ । सरहरूले माया पनि गर्नुहुन्थ्यो ।

एक पटकको कुरा हो । विद्यालयले कुनै पनि फिस नलिने गरी निःशुल्क विद्यालय अभियान शुरु गर्दा त्याहाँका केही धनाढ्यहरूले हामी कसैको दानमा हाम्रो छोराछोरी पढाउँदैनौ भन्दै त्यसको विरोध गरेका थिए । त्यसपछि विद्यालय व्यवस्थापनले फिस तिर्न चाहनेहरूले तिर्ने र अरूले नतिर्ने भनी अभियान फिर्ता लिएका थिए । त्यति राम्रो थियो, हाम्रो विद्यालय विगतको सम्झना गर्दै उनले भने । मैले अध्ययन गर्दाको समयमा विद्यालयको भौतिक तथा शैक्षिकस्तर त राम्रो थियो नै त्यसभन्दा धेरै महŒवपूर्ण, औपचारिक अध्ययनसँगै सिकाइने व्यावहारिक ज्ञान थियो । गुरुहरूले विद्यार्थीलाई हरबखत नैतिकवान्, चरित्रवान् र संस्कारित बनाउन प्रेरित गरिरहनुहुन्थ्यो । अहिले पनि ताजै रहेको एउटा घटना सम्झँदै उनी भन्छन् ,‘साथीको देखासिकीमा पान खाएर मुख रातो बनाउने भनेर मैले बजारमा पान खाएको बि एस सी सरले देख्नुभएछ, भोलिपल्ट म स्कुल जाँदा सरले बेस्सरी झपार्नुभयो, त्यस्तो थियो त्यस बखत सामाजिक जिम्मेवारी सहितको शिक्षण पेशा’ ।

६ कक्षापछि म २०३५ सालमा नेपाली भाषाको बाहुल्य भएको क्षेत्र पूर्वतिर आएँ । गाउँ छोडेर यता आउन लाग्दा ती सरहरूले हामी तिमीलाई चाहिने सुविधाहरू उपलब्ध गराइदिन्छाँै, यतै बस भनेर कर गर्नुभयो । तर, घरायसी कारणले नै यता पूर्व आएर बस्न थालेँ । अहिलेको वराहक्षेत्र नगरपालिकाको वडा ११ साविकको प्रकाशपुरबाट २०३६ सालमाएसएलसी दोस्रो श्रेणीमा पास गरेँ । त्यसपछिको मेरो प्रवेशिका तह आई ए, बि ए, स्नातकोत्तर एम ए सबै मेजर नेपाली विषयमा नै गरेँ । “मैले मुख्यविषय नेपाली राख्नुको प्रमुख कारण वा प्रेरणा भने पनि एउटै कारण थियो, त्यो के हो भने सप्तरीमा हुँदा मेरो नेपाली भाषा निकै कमजोर थियो, पकड नै थिएन । नेपाली भाषामा घरबाहेक सबै ठाउँमा मैथिली र थारु बोल्नुपथ्र्यो । मलाई साथीहरूले नेपाली बोल्न लाउँथे, बोल्न नजान्ने मलाई उल्ली बिल्ली गर्थे । खिसीटिउरी गर्थे । त्यो सम्झेर मैलै नेपाली भाषा सिकेर नै छा्ेड्छु भनेर उच्च शिक्षाको प्रमुख विषय नेपालीलाई बनाएँ’ । प्रचार्य नेपाली सर भन्छन् ।

अनौठो संयोग के रह्यो भने मैले नेपाली भाषा लिएर पढेको आई ए, बि ए, एम ए र शिक्षाआयोगको परीक्षामा सबैमा म दोस्रो श्रेणीमा नै पास भएँ । त्यसपछि अन्य स्कुल हुँदै हालको आदर्श माविको नेपाली विषय पढाउने नेपाली सर भएर अहिले प्राचार्य भूमिका निभाउँदै छु । ‘वास्तवमा मैले बाल्यकालको शिक्षादेखि लिएर उच्चशिक्षासम्म जे जति प्रगति गर्न सकेँ त्यसको सबैभन्दा ठूलो आधार र महŒवपूर्ण प्रेरणा दिने विद्यालय भनेको त्यही चन्द्र माध्यमिक बोधे बसाईन विद्यालय नै हो । सरहरूबाट मैले सधैं हौसला तथा प्रेरणा पाइरहँे । पूर्व गुरुहरूको सम्झनागर्दै उनी भन्छन् । तपार्इं मधेशमा जन्मनुभयो, त्यहींको समाजिक वातावरणमा हुर्कनुभयो । बाल्यकाल त्यहीँ बित्यो । कस्तो थियो त ? त्यस समयको शैक्षिक सामाजिक अवस्था भन्दा उनी भन्छन् – म जन्मेको सप्तरी त्यसो त शैक्षिक राजनीतिक, समाजिक, आर्थिक हरक्षेत्रमा अगाडि छ , एकसे एक विद्वान्, डक्टर, इन्जीनीयरलगायत छन् ।

तर, त्यतिखेर महिला छोरीचेलीलाई घरभित्रै राख्ने, जातीय भेदभाव धेरै थियो । छोरीहरूलाई पढाउने तर बाहिर निस्केर काम गर्न नदिने , घुँघट प्रथा थियो भने, कलवार, तेली, सुढी, खत्वेलगायतको जातिको मान्छेलाई ब्राह्मण र क्षेत्रीले घरभित्र पस्न दिँदैनथे । कतिसम्म डोम समुदायको मानिसहरूले पसलमा गएर चिया खानु परे आफ्नै गिलासमा खानुपर्ने चलन थियो । यस्तो देखेर बडो नराम्रो लाग्दथ्यो । उनी सम्झन्छन् । यतापूर्व आउँदा भने त्यस्तो विभेद देखिन मैले । धेरै वर्षपछि आफ्नो जन्मथलो घुम्न सप्तरी गएको थिएँ ,भौतिक परिवर्तन त धेरै भएका छन् । समाजिक विभेदको कुरीतिमा केही त सुधार भएको छ तर गाउँघरमा अझै पनि जातीय छुवाछुतको कुसंस्कार जीवितै रहेको नमिठो अनुभव भएको उनी बताउँछन् ।

नमूना बनाउन लागि पर्नुभएको छ तपाईं, के गर्दै हुनुहुन्छ त भन्दा उनी भन्छन्–वराहक्षेत्रको जेठो विद्यालय आदर्श माविमा भौतिक सुविधा बढाउँदै तथा शैक्षिक गुणस्तरमा क्रमशः सुधार हुँदै गएको छ तर म अझै पनि सन्तुष्ट छैन । उत्कृष्ट जिल्लामात्र नभएर प्रदेशको नै नमूना विद्यालय बनाउन विद्यार्थीको सिकाइको स्तर बढाउने, मल्टी मिडिया क्लासेस, इलेक्ट्रीकल प्रयोगशाला, विद्यालयमा करेसाबारी समेत बनाएका छौं , जसमा विद्यार्थीले प्रयोगात्मक रूपले स्वयं बोटबिरुवा लगाउने, सागसब्जी उत्पादनसमेत गर्न सक्ने छन् । हामीले विद्यार्थीको स्वास्थ्यको ख्याल गरेका छौं । बगैंचा बनाएका र्छाँै यस्तै समय समयमा खेलकुद, नाचगान, पिटीलगायतको विभिन्न अतिरिक्त क्रियाकलापको आयोजना गनर्,े यसै गरी मादक पदार्थ तथा लागूऔषध दुव्र्यसन विरुद्ध पूर्व लागूऔषधबाट रिकभर भएका व्यक्ति ल्याई अनुभव सुनाउने जस्ता कार्यक्रम गर्ने गरेको उनी बताउँछन् ।

तर, विद्यार्थीको आकर्षण निजी क्षेत्रमा घटेको छैन नि भनी जिज्ञासा गर्दा उनी भन्छन्– विद्यार्थीको निजी विद्यालयमा झुकाव स्वाभाविक रहेको भन्दै अहिले हाम्रा ेविद्यालयको शैक्षिक गुणस्तर बढ्दै गएको छ । यस वर्षको एसईईमा ७ जनाले ए प्लसमा उत्तीर्ण गरे । सरकारी विद्यालय पनि राम्रो हुन्छ सामुदायिक विद्यालयमा अध्ययन गर्नको लागि हामीले अभिभावकलाई आग्रह गर्ने हो । मैले मेरो सानो छोरालाई नजिकैको विद्यालयको बालशिक्षामा राखिदिएको छु । तर, कम बुझ्ने भन्दा पनि पढेलेखेका शिक्षित व्यक्तिको सामुदायिक स्कुलप्रतिको प्रतिक्रिया बुझ्न नसक्नुभएको उनी ठान्छन् । फेरि हामीले पनि निजी क्षेत्रको जस्तै अद्यावधिक रहनु पर्ने र अभिभावकको विश्वास जित्नुपर्ने चुनौती रहेको बताउँछन् ।

हामीले मेहनेत गरेका छौँ भने विद्यार्थीले पनि सहयोग गरेका छन् । अनि मात्र हामीले यो नतिजा ल्याउन सफलभयौं । अहिले पनि भन्छु, विद्यालयले अपेक्षित नतिजा प्राप्त गर्नको लागि विद्यालयलाई विद्यार्थी र अभिभावकको रचानात्मक सहयोग चाहिन्छ । विद्यालय समयभन्दा पछि पनि विद्यार्थीले ट्यूसन पढ्नै पर्ने ,फेसनको रूपमा बढेको प्रवृत्तिबारेमा सोध्दा उनले भने– विद्यार्थीलाई पृष्ठपोषणको लागि १ देखि २ घण्टाको ट्यूसन ठीक छ तर विहान ६ बजे स्कुल गएको विद्यार्थी राती ८ बजेसम्म पढेर मात्र आउँछ भने उसको मानसिक तथा शारीरिक स्वास्थ्यमा र दीर्घकालीन मनोवैज्ञानिक असरका बारेमा शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुनुपर्छ । प्रचार्य भट्टराईले लादिएको पढाइभन्दा सहज रूपमा ग्रहण गर्न सक्ने सिकाइ उत्तम भएको बताए ।