उदयपुर/ उदयपुरको ऐतिहासिक उदयपुरगढीको संरक्षण तथा प्रवद्र्धनसँगै भ्यूटावर र भूगोल पार्क निर्माण कार्यलाई पालिकाले तीव्रता दिएको छ । पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउनका निम्ति गढीको संरक्षण तथा प्रवद्र्धनसँगै भ्यूटावर निर्माण र भूगोल पार्कको कामलाई उदयपुरगढी गाउँपालिकाले तीव्रता दिएको हो ।

पर्यटन प्रवद्र्धनकै लागि पालिकाले ५० लाख बजेट विनियोज गरेर चालू आर्थिक वर्षभित्र भ्यूटावरको निर्माण कार्य सम्पन्न, पुरानो उदयपुरगढीसम्म पुग्ने ढुङ्गाको सिँढी निर्माण, उदय सेन राजाको प्रतिमा झल्कने सालिक निर्माण, सङ्ग्रहालयको स्थापना, नेपाल टारको भूगोल पार्क संरक्षण गर्ने उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए ।

सरकारले घोषणा गरेको घुम्नै पर्ने सयवटा पर्यटकीयस्थलभित्र उदयपुरगढी परेकाले गढीको संरक्षण तथा प्रवद्र्धनको लागि सङ्घीय सरकारले प्रत्येक वर्ष ५० लाख बजेट दिने अध्यक्ष मगरले बताए । उक्त बजेट र पालिकाको बजेटले गढीसम्म पुग्नका लागि कुँदेको ढुङ्गाको सिँढी तयार गर्ने र गढीको स्थापना गर्ने राजा उदय सेनको झल्को दिने सालिक निर्माण गर्ने अध्यक्ष मगरले बताए ।

Udayapurgadhiko-mandi

अहिले गढीमा गढी र दरबार बनाउन प्रयोग गरिएको इँटाको टुक्रा मात्रै भएकाले राजाको केही झलक दिने प्रतिमाको निर्माण गर्ने अध्यक्ष मगरले बताए । बूढापाकाले भनेअनुसार उदय सेन राजा घोडामा सवार हुने र एकदम मिजासिलो र फूर्तिलो अनि चतुर रहेको अध्यक्ष मगरले बताए ।

आर्थिक वर्ष २०७४/७५ बाट करिब ४५ मिटर अग्लो भ्यूटावरको निर्माण कार्य शुरु भएको थियो । त्यस भ्यूटावरको निर्माण कार्य सम्पन्नसँगै पार्क र वगैचा निर्माण गर्ने अध्यक्ष मगरले बताए । त्यस्तै नेपालटारमा रहेको गोल पार्कको करिब २ सय ५० मिटर वरिपरि घेराबेरा गर्ने योजना रहेको उनले बताए ।

गढीको ऐतिहासिक झल्को दिने र स्थानीय विभिन्न जातजातिको पहिचान झल्काउने पोसाक, बाजागाजालगायतका विभिन्न कुराको संरक्षण गर्नका निम्ति सङ्ग्रहालयको स्थापना गर्न लागेको अध्यक्ष मगरले बताए । विभिन्न जात जातिको मौलिक भेषभूषा र बाजागाजा लोप हुँदै गएकाले संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सङ्ग्रहालयको स्थापना गर्न लागेको उनले बताए ।

पर्यटन वर्षमा उदयपुरगढी घुम्न आएका पर्यटकहरूले गढीको प्रत्यक्ष अवलोकन गर्नुका साथै सङ्ग्रहालयमा रहेका विभिन्न जातजातिको पोसाक, वाद्यवादनकोसमेत प्रत्यक्ष अवलोकन गर्न पाउने अध्यक्ष मगरले बताए । त्यस्तै भ्यूटावरबाट पश्चिममा कटारी बजार, दक्षिणमा तराईका फाँट र उत्तर– पूर्वका हरियाली पहाड नियाल्न सकिने अध्यक्ष मगरले बताए । त्यस्तै गढीको तत्कालीन दरबार नभए पनि त्यसमा प्रयोग भएका इँटा, ढुङ्गेधारा, कवाज मैदान, ताम्रपत्र, शिलालेख, पञ्चावती मन्दिरको मूर्ति र बाहिरका विभिन्न मूर्तिहरूको प्रत्यक्ष अवलोकन गर्न सकिने उनले बताए ।

प्रदेश सरकारबाट २० लाख बजेट आउने भएपछि पर्यटन प्रवद्र्धनको लागि एक करोड २० लाख बजेट भएको अध्यक्ष मगरले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आउने पहिलो वर्षको बजेटले गढीको वरिपरि करिब ४ सय ५० मिटर वरिपरि घेराबारा गरेको पालिकाले जनाएको छ । करिब सात फिट अग्लो ढुङ्गाको पर्खालमाथि ५ फिटको तारजालीले घेराबारा गरेको र दुईवटा ढोका निर्माण गरेको उनले बताए ।

घुम्नै पर्ने सयवटा गन्तव्यभित्र उदयपुरगढी परेपछि करिब ५० दशकपछि गढीको केही मुहार फेरिएको छ । स्थानीय र सम्बन्धित निकायको ध्यान नजाँदा ऐतिहासिक उदयपुरगढी भग्नावशेष अवस्थामा रहेकाले गढीको पहिचान ओझेलमा परेको थियो । पर्यटन वर्षको लागि मदन भण्डारी राजमार्गबाट करिब ८ किलोमिटरमाथि पर्ने गढीसम्म सकड मर्मत सम्भार र खानेपानीको व्यवस्थापन गर्न लागेको पालिकाले जनाएको छ ।

जिल्लाको सदरमुकामसमेत रहेको गढी पानीकै समस्याले गर्दा गाईघाट सदरमुकाम सरेको बूढापाकाहरू बताउँछन् । खानेपानीको मुहान धेरै टाढा भएकाले थोरै बजेटले नधान्ने भएपछि लिफ्टिङ सिस्टमबाट पानीको समस्या समाधान गर्न लागेको पालिकाले जनाएको छ । करिब दुई किलोमिटर तल जोगीधाराबाट लिफ्टिङको काम भइरहेको र अबको करिब २–३ महिनामा काम पूरा हुने पालिकाले जनाएको छ ।