विराटनगर/ विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत डेङ्गुबाट सङ्क्रमित एक विद्यार्थीको मृत्यु भएको छ ।

विराटनगर–९ भूमि प्रशासन चौकस्थित १८ वर्षीय अविनाश शर्माको उपचारको क्रममा मृत्यु भएको हो । विराटनगरमा फर्निचर उद्योग सञ्चालक राजकुमार शर्माका छोरा अविनाशलाई भदौ २० गते सामान्य ज्वरो आएपछि उपचारका लागि नजिकैको सप्तकोशी नर्सिङ होममा लगिएको थियो ।

बहिरङ्ग विभागमा परीक्षण गराउँदा उनमा डेङ्गुको सङ्क्रमण रहेको रिपोर्ट अस्पतालले दिएको थियो । घरमै राखेर चिकित्सकको सिफारिसमा औषधि खुवाउँदै आए पनि दुई दिनपछि ज्वरो बढ्नुका साथै वान्ता हुन थालेपछि अस्पताल भर्ना गरेर उपचार भइरहेका बेला मृत्यु भएको काका उमेश शर्माले बताए ।

अस्पतालका फिजिसियन डा.अरविन्द साहले शर्मामा डेङ्गुको सङ्क्रमण देखिएको बताए । दुई दिनसम्म अस्पतालमा भर्ना गरेर उपचार जारी राखिए पनि स्वास्थ्यमा सुधार नभएपछि भतिजोलाई थप उपचारका लागि मङ्गलबार गोल्डेन अस्पतालमा भर्ना गरिएको मृतकका काका उमेशले बताए ।

गोल्डेन अस्पतालको आईसीयूमा राखेर उपचार थालिए पनि उपचार सम्भव नभएको र भतिजाको मृत्यु भएको जानकारी उनले दिए । शर्माको गोल्डेन अस्पतालमा बुधबार बिहान ३ः४५ बजे मृत्यु भएको हो । अस्पतालले दिएको मृत्यु प्रमाण–पत्रमा मृत्युको कारण डेङ्गु उल्लेख गरिएको छ । आफ्ना विद्यार्र्थीको असामयिक निधन भएको शोकमा कलेजले बिहीबार एक दिन बिदा दिएको छ ।

पहिलो पटक धरानमा वैशाख ३० गते डेङ्गु देखिएको हो । अहिले मुलुकका ५६ जिल्लामा यसको सङ्क्रमण फैलिसकेको छ । मोरङमा जेठ पहिलो साताबाट भित्रिएको डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या एक सय ५९ पुगिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

उनकाअनुसार डेङ्गुका कारण मृत्यु नै भएको घटनाको रेकर्ड भने अहिलेसम्म स्वास्थ्य कार्यालयसँग नभएकाले सत्यतथ्य बुझ्न जनस्वास्थ्यको टोली परिचालन गरिएको छ । अहिलेसम्म नेपालका ५६ जिल्लामा डेङ्गु फैलिइसकेको छ । प्रदेश १ मा डेङ्गु सङ्क्रमितको सङ्ख्या तीनहजार नौ सय ८३ पुगिसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।