विराटनगर । अवैध बाटो रोजेर विदेश हिडेका तीन जना महिलाकोे उद्धार गरिएको छ । भारत हुदै अवैध रूपमा कुवेत जान हिडेका तीन जना महिलाको उद्धार गरिएको हो ।
दलालको फन्दामा परि आकर्षक तलब दिने भन्दै अवैध बाटो रोजी विदेश हिडेका ती मलिहाहरूको उद्धार विराटनगरस्थित २ नम्बर डाटबाट मंगलबार साना हातहरू नेपाल नामक संस्थाले गरेको हो ।
दलालको निर्देशन बमोजिम ती महिलाहरू जोगवनीमा सरसामन किन्ने बहना बनाएर हिडेका थिए ।

उनीहरूको साथमा तेल हाल्ने ड्रम पनि थियो । तेल किन्ने बहना बनाएर साथमा ड्रम बोकेर हिडिएका थिए । ‘सोधपुछको क्रममा दलालको फन्दमा परि विदेश हिडेको खुल्यो,’ साना हातहरू नेपाल विराटनगरका स्टेशन म्यानेजर दिवस श्रेष्ठले भने, ‘दलालले नेपालको विमानस्थल प्रयोग गरि विदेश जादा महङगो पर्ने भएकोले भारतको बाटो रोजेको भनेका रहेछन् ।’

काठमाण्डौका सुरज तामाङ्ग र इनरुवाको लक्ष्मण रामले ती महिलाहरू अवैध बाटो प्रयोग गरि विदेश पठाउने क्रममा हामीले फेला पारेको साना हातहरू नेपालका स्टेशन म्यानेजर श्रेष्ठले जानकारी दिए । उनीहरू मध्ये २ जनाको पासपोर्ट थियो भने एक जनाको थिएन् । उनीहरू इटहरी, मोरङ र चितवनकी महिला हुन् । विदेश पठाउने दलालले एक जना महिलासँग ८० हजार पनि लिएको बताइएको छ ।

ती महिलालाई विदेश पठाउने दुवै जना एजेन्ट अहिले फरार छन् । चितवन, मोरङ र इटहरीको गरि तीन जना महिलालाई एकै ठाउँमा जम्मा गरि मंगलबार साझ दलालले पठाएका थिए । ‘विदेश जाने भिसा आइसक्यो भन्दै ती महिलाहरूलाई इटहरीमा भेला पारि हिडाएका रहेछन्,’ ती महिलाहरूको भनाई उत्रित गर्दै श्रेष्ठले भने, ‘भारत पुगेपछि भिषा र प्लेन टिकट दिने भनेका रहेछन् ।’ उद्धार गरिएको तीन जना महिलालाई बिहीबार प्रहरीलाई जानकारी गराएर आफन्तलाई जिम्मा लगाउने बताइएको छ ।