धरान । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाको सरकारले एकदलीय सर्वसत्तावादी शासन ल्याउन लागेको आरोप लगाएका छन् ।

धरान उपमहानगर समितिको सभालाई बुधबार सम्बोधन गर्दै सभापति देउवाले त्यही एकदलीय व्यवस्थाको लागि विगतमा लडेको स्मरण गर्दै फेरि कम्युनिष्ट सरकारविरुद्ध लड्ने बेला आएको बताए । ‘प्रजातन्त्रको लागि राणा शासन, पञ्चायत हटायौं’ उनले भने, 'फेरि कम्युनिष्ट सरकार विरूद्ध सडकमा उत्रिने बेला अायाे ।' 

उनले कम्युनिष्ट सरकारले मानव अधिकार विरोधी काम गरिरहेको उनले बताए । कम्युनिष्ट सरकार बनेपछि जनताको बोल्न पाउने अधिकार, लेख्न पाउने अधिकार स्वतन्त्रतामाथि कुण्ठित पारिरहेको उनले आरोप लगाए । उनले प्रजातन्त्रको लागि लड्ने नेपाली कांग्रेसले आउँदो उपनिर्वाचनमा धरानबाटै जितको दियो बाल्ने समेत बताए ।

कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय गच्छदारले हिजोका दिनमा धरानमा लुकीलुकी कांग्रेसको संगठन बनाएको सन्दर्भ जोड्दै अब त्यो संगठनलाई जिताउन आवश्यक रहेको बताए । सुनसरीको अन्य क्षेत्रमा कांग्रेसले जित्दै आए पनि एक नम्बर क्षेत्र रहेको धरान जहिल्यै एक नम्बरमा पर्ने गरेको उनले बताए । उनले यो पटकको उपनिर्वाचनमा पनि कांग्रेसलाई जिताउन नसके एक नम्बर स्थान असफल स्थानमा पग्ने दाबी गरे ।