इटहरी/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार अधिनायकवादतर्फ अगाडि बढेको बताएका छन् । न्यायालयदेखि प्रहरी प्रशासन क्षेत्रसमेत अधिनायकवादी शैलीमा अगाडि बढेको भन्दै देउवा ओली सरकारविरुद्ध खनिएका हुन् ।

सुनसरीको इनरुवामा दोस्रो राष्ट्रिय जनजागरण अभियानलाई सम्बोधन गर्दै देउवाले कम्युनिष्ट सरकारले जथाभावी आतङ्क मच्चाए सडक आन्दोलन गर्न बाध्य हुने बताए । आफ्नो नेतृत्वको सरकारको पालामा आएको ऐनलाई लत्याएर सरकारले अधिनायकवादीशैली अपनाएको भन्दै उनले देशका सबै निकायमा कम्युनिष्ट सरकारको मनपरी चलेकाले सचेत रहन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

जनजागरण अभियानले पार्टीलाई बलियो बनाउँदै लैजाने सभापति देउवाको भनाइ थियो । अहिले नेपाली काङ्ग्रेस गाउँमा कार्यकर्ताको जनभावना बुझ्न लागेको भन्दै त्यसतर्फ लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले सरकारको नकारात्मक कामको विरोध गर्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले धरानमा आगामी मङ्सिरमा हुने उपनिर्वाचन पार्टीको लागि जीवन–मरणको सवाल भएको समेत बताए ।

काङ्ग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नेपाली काङ्ग्रेस सङ्गठित हुन आवश्यक रहेकोमा जोड दिए । काङ्ग्रेसका नेता कार्यकर्ता लोकतन्त्र तथा स्वतन्त्रताको लागि लड्दै आएको बताएका थिए । उनले बीपी कोइरालाले राजनीति गरेको थलो सुनसरी काङ्ग्रेसले कब्जा गर्दै जाने बताए । ६० वर्षदेखि धरानमा कम्युनिष्टले शासन गरे पनि विकास भने काङ्ग्रेसको पालामा मात्र भएको भन्दै धराने जनतालाई काङ्ग्रेसमा भोट हाल्न आग्रहसमेत गरे ।

नेपाली काङ्ग्रेसका सह–महामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वर्तमान कम्युनिष्ट सरकारको राष्ट्रवाद लम्पसारवादमा विसर्जन भएको आरोप लगाएका छन् । नेता महतले सरकारले राष्ट्रियताजस्तो पवित्र महान् कुरालाई सत्तामा जाने भ¥याङ बनाउँदै मनपरी गरिरहेको आरोप लगाए । सरकारले सुशासन, रोजगारी, समृद्धिलगायतका कुरामा खेस्रा कुरा गरेको आरोप लगाएका छन् । काङ्ग्रेस पार्टीले अब संसद् र सडक दुवै ठाउँमा आफ्नो गतिशीलतालाई तीव्रता दिने उनको भनाइ थियो ।

पार्टीका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले अब कार्यकर्तामाझ मात्र नरहेर काङ्ग्रेस जनतामाझ पनि जानुपर्ने बताए । उनले जनमतकै आधारमा काङ्ग्रेसले सरकारलाई सही दिशातर्फ लैजान सक्ने बताए । धरानमा हुन लागेको चुनावमा गुट–उपगुट नभनी चुनावमा होमिन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए । धरानको चुनावमा सम्पूर्ण शक्ति केन्द्रित गर्न उनको अनुरोध थियो ।

त्यस्तै पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काङ्ग्रेसले गरेको काम कम्युनिष्ट सरकारले भजाइरहेको आरोप लगाए । देशभर काङ्ग्रेसको जागरण अभियानले कार्यकर्ताहरूमा उत्साह थपिएको बताएका थिए । त्यस्तै काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माले अहिलेको सरकारले जनता आजित भएको भन्दै जनता विकल्पको खोजीमा रहेको बताए । अहिलेको सरकारले गरेको काम सबै निराशाजनक भएको विश्वकर्माको आरोप थियो । उद्योगी विनोद चौधरीले अहिलेको सरकारले व्यवसाय गर्नेहरूलाई निरुत्साहित गरेको आरोप लगाए ।नको भनाई थियो ।