विराटनगर ।  मुस्लिम सामुदायको धार्मिक मान्यता भन्दै ‘मोहर्रम पर्व’ मा तरवार जुधाउँदा विराटनगरमा पाँच जना युवा घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–९ घोघा पुलचोकमा प्रदर्शन गर्दै घरेलु हतियार तरवार जुधाउँदा र नचाउँदा मुस्लिम युवाहरु सोमबार मध्य राती ११ बजे पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा विराटनगर–९ का १९ वर्षीय रजक खान, मोहम्मद अजाद, विराटनगर–८ का १८ वर्षीय मोहम्मद राज, २१ वर्षीय मोहम्मद मसिम र २२ वर्षीय मोहम्मद अस्लम रहेका छन् । टाउको, चिउँडो लगायत शरीरका विभिन्न भागमा हतियारले काटेर चोट लागेका उनीहरुलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको छ ।

मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले घटनाका बारेमा जाहेरी वा उजुरी नपरेको बताए । हतियार प्रदर्शन गरेर पर्व मनाउने क्रममा युवाहरु घाइते हुन थालेपछि कार्यक्रम भने बन्द गरिएको थियो । श्रेष्ठले पर्व मनाउँदा तरवार प्रदर्शन गर्ने क्रममा केही युवा घाइते भए पनि जाहेरी नपरेका कारण घटनाको आधिकारिक रेकर्ड प्रहरीमा नरहेको स्पष्ट पारे । ‘मुस्लिम समुदायको यो पर्वमा धारिलो घरेलु हतियार प्रदर्शन गर्ने गरिँदो रहेछ,’ उनले भने, ‘त्यस क्रममा चोट लागेमा वा कुनै घटना भएमा प्रहरीलाई जानकारी भने गराएको छैन ।’

ghaite-photo1

घाइते भएका युवाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार हुँदै ।

मुस्लिम युवाहरुले पर्वका अवसरमा प्रत्येक वर्ष तरवार, खुँडा, भाला लगायतका घरेलु हतियार लिएर ‘फाइटिङ स्किल’ प्रदर्शन गर्छन् । त्यही क्रममा चोट लागेर विराटनगरमा केही युवा घाइते हुन पुगेका हुन् । पर्व मनाउने क्रममा मुस्लिम युवाहरुले खुलेआम हतियार प्रदर्शन गर्दा जनजीवन भने आतंकित हुने गरेको छ ।

युवाहरुबीचमै हतियार हानाहान गरिरहेको देखिने दृष्यले झन् त्रास उत्पन्न गराउने गरेको छ । एउटाले हतियार प्रहार गर्न खोज्ने र अर्कोले बचाउने क्षमता एवं कला प्रदर्शन गरिने गरिन्छ । मुस्लिम पात्रोअनुसार हिजरी संवत १४४१ को मोहर्रम महिनाको १० तारिखमा यो पर्व धुमधाम मनाइन्छ ।

ghaite-photo2

घाइते भएका युवाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार हुँदै ।

लगभग एक हजार चार सय ५० वर्ष अघि यजिदको आक्रमणमा मारिएका इस्लामिक धर्म गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाइन्छ । हुसैनको प्रतीकस्वरुप घर–घरमा तहाजियाको पूजा गर्ने चलन रहेको मुस्लिम अगुवा बताउँछन् ।

 

 

ghaite-photo

घाइते भएका युवाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार हुँदै ।