विराटनगर/ विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र राउण्ड टेबल नेपालबीच सम्झौता भएको छ । न्यूरो अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटमा अस्पताल र राउण्ड टेबलबीच आइतबार सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता–पत्रमा न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराई र राउण्ड टेबल नेपालका अध्यक्ष सौरभ केडियाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता–पत्रमा उल्लेख भएअनुसार न्यूरो हस्पिटलमा उपचार गराउँदा नेपालभरिका राउण्ड टेबलका पदाधिकारी र सदस्यहरू तथा उनका आश्रित परिवारले २० प्रतिशतसम्म छुट पाउनेछन् ।

विराटनगर राउण्ड टेबल ५ का अध्यक्ष अश्विनी बंसलको सहकार्यमा सो सम्झौता भएको हो । सो अवसरमा हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुई पक्षीय सम्झौता गरेको बताए ।

यस्तै राउण्ड टेबल नेपालका अध्यक्ष सौरभ केडियाले पछिल्लो समय भारतका चर्चित अस्पतालहरूमा हुने न्यूरो सर्जरी, मुटुसम्बन्धीलगायतका उपचार नेपालको प्रदेश नं.१ को राजधानी विराटनगरको न्यूरो हस्पिटलमा हुँदै आएको छ ।

हस्पिटलले यसअघि पनि विराटनगरको ग्लोबल आईएमई बैङ्क, सनराइज बैङ्क, नेपाल पत्रकार महासङ्घलगायतका दर्जनौं सङ्घ–संस्थामा आबद्ध सदस्य तथा कर्मचारीहरूलाई छुटसहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।