धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्तिका लागि केही कानूनी जटिलता रहेकाले अदालतको राय माग्ने तयारी भइरहेको उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् ।

अख्तियार दुरुपयो अनुसन्धान आयोगले भ्रष्टाचारकाण्डमा उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई कारबाहीपछि निलम्बन भएको तर बर्खास्त नभएकाले प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तिमा कानूनी जटिलता देखिएको हो । प्रतिष्ठानका सह–कुलपतिसमेत रहेका मन्त्री यादवले सोमबार बीपी कोइरालाको १०५ औं जन्मजयन्ती तथा बीपी प्रतिष्ठानको २६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्न आएका बेला भने, ‘राजकुमार रौनियार निलम्बनमा परेका छन् ।

तर बर्खास्ती नभएकाले प्रतिष्ठान सञ्चालन गर्न नयाँ उपकुलपति नियुक्तिमा कानूनी जटिलता देखिएकाले अदालतसँग राय माग्ने तयारी भइरहेको छ ।’ उनले निलम्बनमा परेको तर बर्खास्त नभएको अवस्थामा प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्ति गर्न मिल्छ कि मिल्दैन भनेर अदालतसँग राय माग्ने बताए ।

मन्त्री यादवले समृद्धिको इण्डिकेटर स्वास्थ्य र शिक्षा भएकाले प्रतिष्ठानलाई जनशक्ति उत्पादन, सेवा र अनुसन्धानमा अब्बल बनाउनु पर्नेमा जोड दिए । उनले गतवर्ष भएको प्रतिष्ठानको सिनेट बैठकले विश्व विद्यालय बनाउने निर्णय गरिसकेकाले सरकारले पनि तयारी थालेको बताए । उनले प्रतिष्ठानमा विगतमा विवाद आए पनि अब प्रतिष्ठानलाई राम्रो बनाउन एक–आपसमा समझदारी र समन्वयको खाँचो रहेको बताए ।

त्यसका लागि यहाँको नेतृत्वले ध्यान पु¥याउन सुझाव दिए । उनले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा प्राथामिक स्वास्थ्य केन्द्र, नगरपालिका सिटी अस्पताल, प्रदेशहरूमा स्वास्थ्य प्रतिष्ठानहरू धमाधम निर्माणको तयारीमा रहेकोसमेत जानकारी दिए । उनले पछिल्लो सयम देशभरि फैलिएको डेङ्गु नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताउँदैं सरकारले त्यसका लागि अभियान चलाएको बताए ।

उक्त अवसरमा प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्रतिष्ठानमा समस्यै समस्या रहेकाले त्यसको समाधानका लागि सङ्घीय सरकारले पहलकदमी थाल्नु पर्ने बताए । उनले यहाँको उपचार सेवा, शिक्षण सेवा स्रोत र साधनको अभावमा समस्या भएको भन्दै समाधान गर्न सङ्घीय स्वास्थ्य मन्त्री यादवलाई अनुरोधसमेत गरे ।

समारोहमा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.गुरुप्रसाद खनालले प्रतिष्ठानमा लामो समयदेखि रोकिएको कार्डियोलोजी भवन, मातृशिशु भवन निर्माण कार्यलाई सुचारु गर्न मन्त्रालयको ध्यानाकर्षण गराए । उनले प्रतिष्ठानमा हालसम्म भएको प्रगति विवरण सुनाएका थिए ।

उक्त अवसरमा प्रतिष्ठानको अर्थोपोडिक अपरेशन थिएटरकोसमेत उद्घाटन गरिएको थियो । प्रदेश १ का प्रमुख गोविन्द तुम्वाहाङ, अमेरिकास्थित वासिङ्टन सिटी युनिभर्सिटीका प्राध्यापक डा. रामानन्द लक्ष्मी नारायण, प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहलगायतले सम्बोधन गरेका थिए । यसअघि प्रतिष्ठानले सोमबार बिहान २६ औं जन्मोत्सवको अवसरमा म्याराथनसमेत आयोजना गरेको थियो ।