विषय प्रवेश
दिवंगत पूर्व मेयर तारा सुब्बालाई अन्तिम श्रद्धाञ्जली अपर्ण गर्न धरान आएका मुख्यमन्त्री शेरधन राईले मन खोलेर तारा सुब्बाको खुबै प्रशंसा गरेका थिए । उनले ऐतिहासिक धरान विजयपुरलाई १ नं. प्रदेशको राजधानी नदिए पनि यस ऐतिहासिक सहरलाई तारा सुब्बाको घोष्णापत्र अनुसार स्मार्ट सिटी तथा उत्तरआधुनिक सहर बनाउन सहयोग गर्ने हृदय खोलेर त्यहाँ उपस्थित धरानवासी अगाडी प्रण गरे । त्यस्तै धरान उप–महानगरपालिकालाई १ नं. प्रदेशको खेलकुद राजधानी बनाउने घोषणा समेत गरे । त्यसबाट यस पटक धरानवासीको मन जित्न सफल भएका छन् मुख्यमन्त्री शेरधन राई । त्यतिमात्र होइन, यस सहरलाई पर्यटकहरूको रुचिपूर्ण बनाउन उनले धरान भेडेटार केबलकारको कुरा पनि उठाए । त्यो सुनेर त्यहाँ उपस्थित सभाले तालीको गडगडाहटले स्वागत गरेका थिए । मुख्यमन्त्रीले कम समयमा धरानको लागि धेरै कुरा बोले र केन्द्रीय सरकारबाट उपेक्षित धरानवासीको दुखेको मनलाई मलहमपट्टि लागउने काम गरे ।

उत्तरआधुनिक तथा स्मार्ट सिटीको पूर्वाधार
कुनै पनि उत्तर आधुनिक तथा स्मार्ट सिटी शहर हुनलाई ठूला ठूला भवन, फराकिला सडकहरू खचाखच भरिएको सवारी साधनले मात्र हुँदैन प्राकृतिक भौगोलिक बनावट पनि उत्तिकै आवश्यकता पर्छ । सँगसँगै सभ्य समाजको सुन्दरतामा पनि भर पर्छ । उत्तर आधुनिक सहर बन्न पूर्वाधार त धरानलाई प्रकृतिले वरदानको रूपमा दिइसकेको छ । नेपाल भरिका शहर र महा–शहरहरू मध्ये प्राकृतिकको वरदान पाउने धरान उप–महानगरपालिका मात्र हो, यो ठोकुवासाथ भन्न सकिन्छ । धरान उप–महानगरपालिकालाई स्मार्ट सिटी बनाउने अर्थिक हैसियत नभए पनि प्रदेश सरकार र केन्द्र सरकारले तथा विदेशी नियोगहरूको आर्थिक सहयोग लिन सके यो अबको १० वर्षभित्र धरान २१औं शताब्दीको अत्यन्त सुन्दर स्मार्ट सिटी बन्न सक्छ । स्वदेशी विदेशी पर्यटकहरूको पहिलो गन्तव्य बन्नेछ र यसबाट धरानको सुनाम विश्व भर छरिनेछ । स्मार्ट सिटी तथा उत्तर आधुनिकको लागि एक अति आवश्यक पक्ष भनेको स्मार्ट बस पार्कको आवश्यकता पनि हो । बारम्बार कार्यवाहक मेयरको जिम्मेदारी सम्हाल्दै आएका धरान वडा १५ का वडा अध्यक्ष नरेश इवारमकाअनुसार धरान–८ स्थित सुन्दरवस्तीलाई स्मार्ट बसपार्क बनाउन उपमहानगरपालिकाले निर्णय गरिसकेका बताए । सँग सँगै धेरै वर्षसम्म अनिर्णयको बन्दी भएको धरान एयरपोर्ट पनि निर्माण गर्न धरान उपमहानगरपालिकाले चाँडै निर्णय गर्ने उनले बताए ।

धरानजस्तो सुन्दर ठाउँ नेपालमा कहा पाइन्छ र ?
पहाड र तराईको सङ्गमस्थल धरान यसै सुन्दर प्रकृतिक वातावरण भएको अनुपम ठाँउ हो । यस नगरको पुच्छारको तिनकुनेको तापक्रम २७ सि हुन्छ भने फुस्रेको तापक्रम २५ डिग्री सेल्सियसमात्र, अझ ४२०० फिट उचाइमा रहेको पर्यटकीय भेडेटारको तापक्रम भने २५ सि. भन्दा बढी हुँदैन । छाती खोलेर ठिङ्ग उभिएको महाभारत श्रृङ्खला पर्वत मानो धरानको लागि पैतृक सम्पदा नै रहेको छ, दक्षिणमा रहेको कुनै बेला नेपालको एक प्रसिद्ध ४ कोशे जङ्गलमा वि.सं. १९९५ मा नेपालका प्रधानमन्त्री श्री ३ जङ्ग बहादुर राणा समेत आएका थिए । यो ४ कोशे जङ्गल धरानवासीको लागि अक्सिजन प्रदान गर्ने प्राणदाता मात्र नभई यो एक विशाल प्राकृतिक भण्डार पनि हो । युद्ध शमशेरले विजयपुरका मन्दिरहरू दर्शन गरेपछि भानु चौकलाई आफ्नो नाममा युद्धनगर घोषणा गरेका थिए । उक्त ऐतिहासिक युद्धनगर २०३५ देखि भानुचौक भएको छ । पूर्वमा बग्ने सेउती खोला र पश्चिममा बग्ने सर्दु खोलाहरू शिव भगवान्को जट्टाबाट झरेको गङ्गा नदी सरह असारदेखि असोजसम्म बगी रहन्छन् । यही ४ महिनाभित्र ती नदीहरूबाट ६० अर्बभन्दा बढी लिटर पानी बग्ने गर्छ । यो पानीलाई सञ्चित गर्न सके धरानवासीलाई कोशी नदी र तमर नदीको आवश्यकता पर्दैन । धरानवासीलाई वार्षिक १० अर्ब लिटर पानी भए प्रसस्त हुन्छ ।

शिक्षा,स्वास्थ्य र पर्यटन स्मार्ट सिटीका पूर्वाधार हुन्
पूर्व मेयर मनोज कुमार मेन्याङ्बोको भिजन तथा उनको प्रतिबद्धता थियो धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटनको नगर बनाउने । ती तीन मध्ये पर्यटक बाहेक अरू २ आयामहरू प्रायः पूरा भएका छन् । धरानबाट भेडेटार र धरानबाट वराहक्षेत्र मन्दिरसम्म केवलकार निर्माणको लागि उनी चीन भ्रमणमा रहँदा चिनियाँ सरकारसित लगानी गर्न अनुरोध गरेका थिए । त्यसवापत् नेपाल स्थित चिनियाँ राजदूतहरूले ती स्थलहरूको भ्रमण तथा सर्वेक्षण गरेपछि आर्थिक सहयोग दिन तयार भएको अवस्थामा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय चुनाव गर्न अस्वीकार गरेको कारण मनोज कुमारको सुन्दर भिजन त्यसै तुहियो । आज पुनः केवलकारको विषयमा चर्चा हुन थालेको छ । आज धरान शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको छ । यहाँ स्थित विश्वविद्यालय सरहको वि.पी.के.आई.एच.एस. को कारण धरानको नाम दक्षिण एशियाका मुलुकहरूमा समेत फैलिन सफल भएको छ । निजी क्षेत्रबाट सञ्चालित सुनसरी टेक्नीकल कलेजले पनि ठूलो योगदान पु¥याएको छ भने हात्तिसार क्याम्पसले खाद्य प्रविधिमा ठूलो योगदान पुर्याएको छ ।

वैदिक मठ मन्दिरको प्रचार प्रसारमा कमी
हिन्दू धार्मिक ग्रन्थहरूलाई गहन रूपमा अध्ययन गर्ने हो भने काठमाण्डौस्थित पशुपति मन्दिरभन्दा प्राचीन मन्दिर हो, धरान विजयपुरको दन्तकाली मन्दिर, तर, यो मन्दिर तात्विक प्रचर प्रसारको कमीको कारण सत्ययुगीन मन्दिर ओझेलमा परेको छ । धार्मिक ग्रन्थ अनुसार शिव भगवान्ले सतीदेवीको मृत शरीर काँधमा बोकी पहाड पर्वत डुली हिंड्दा विजयपुर डाँडामा आई पुग्दा सतीदेवीको एउटा दन्त यहाँ खसेको थियो र कलान्तरमा उक्त ठाउँमा भक्तजनहरूले एउटा मन्दिर निर्माण गरी दन्तलाई त्यहाँ राखेका थिए र हिजो आज वर्षमा दशैंको अवसरमा एक पटक भक्तजनले दर्शन गर्न पाउँछन्, त्यस्तै विष्णुपादुका स्थित विष्णु का पाइला भएको मन्दिरको दर्शन गर्न प्रत्येक वर्षको पुष महिनामा दर्शनार्थीहरूको ठूलो भीड लाग्ने गर्दछ । वि.सं. १६४१ मा महाराजा विजय नारायण रायले पश्चिम नेपालबाट पुरोहित झिकाई उनीहरूबाट विधिवत पूजा अर्चना गर्न लगाई थिती बसाले । ती पुजारीहरूका सन्तान हुन् वर्तमान खनाल पुजारीहरू । त्यस्तै भगवान् पिण्डेश्वर मन्दिरमा अवस्थित शिवलिङ्ग पनि शिव भगवान तथा महादेवको प्रतिरूप हुन । त्यहाँ वार्षिक साउन महिना भरी दर्शनार्थीहरूको भीड हुने गर्छ । तेस्रो, आज्ञा शिकारी (बुढा सुब्बा) र उनकी चेली शिकार गर्दा गर्दै यहाँ आई पुग्दा कलियुग लागेको कारण अल्पिएको ठाउँलाई बुढासुब्बा भनिन्छ । यस मन्दिरमा दैनिक ठूलो सङ्ख्यामा भक्तजनहरू आर्शीवाद लिन आउँछन् । त्यसको अतिरिक्त धरानमा अन्य पनि मठ मन्दिरहरू छन्, जो ओझोलमा परेका छन् । यी मन्दिरहरूको विषयमा नेपालमा मात्र नभई भारतमा समेत प्रचार प्रसार गर्न सके दर्शनार्थीहरूको सङ्ख्या अझ बढ्नेछ ।

उत्तरआधुनिक तथा स्मार्ट सिटी बन्ने थुप्रै आधार
धरानलाई खेलकुदको राजधानी बनाउने वचन मुख्यमन्त्रीले दिइसकेका छन् । हाल भग्नावशेषको अवस्थामा रहेको प्राचीन विजयपुर दरबारलाई पुरानै शैलीमा पुनः निर्माण गर्नुपर्ने र पाँच कन्या जङ्गललाई ल्बतगचब िश्यय बनाउने, धेरै वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको आदिवासी जनजाती सङ्ग्रहालयलाई अझ बृहत् बनाई त्यसलाई नै सिटी म्यूजियममा परिणत गर्ने हो भने पनि धेरै पूर्वाधार बन्नेछन् । सिटी लाईब्रेरी स्थापना गर्ने, भानुचौक, छाताचौक र धनकुटे रोड विराटनगर जाने सडकमाथि आकाशे पुल बनाउने र कम्तीमा ५० ठाउँमा आधुनिक ट्राफिक लाइट जडान गर्नुपर्छ । माकुराको जालझै झुण्डिएका विद्युुत्, टेलिफोन र केबल तारहरू भूमिगत गर्नुपर्छ । खानेपानी वितरणमा सुधार ल्याउने, वर्तमान सझा हललाई स्मार्ट सिटी हलमा परिणत गर्ने र अब उपरान्त नयाँ भवनहरू निर्माण गर्दा नेपाली कला झल्किने गरी निर्माण गर्नु पर्ने, स्मार्ट टेक्सी पार्क र मोटर साइकलको लागि पार्किङको व्यवस्था मिलाउन आवश्यक छ । स्मार्ट सिटी धरानको आफ्नै कम्तीमा ४ ओटा एम्बुलेन्स हुनुपर्ने र फायर फाइटिङ संयन्त्रमा सुधार गरी गाडी थप गर्न आवश्यक छ । स्मार्ट नगर बस सञ्चालन गर्नुका साथै साना तिना उद्योग स्थापना गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, नयाँ होटेलहरू स्थापना गर्न सहयोग गर्ने काम गर्नुपर्दछ । पर्यटन विकासमा जोड दिने र धरानसित जोडिएको कोशी नदीलाई धरानको हितमा प्रयोग गर्ने सार्थ कोशी टप्पुलाई पनि धरानमा आएका पर्यटकहरूको लागि गन्तव्य स्थान बनाउन सके धरानका १० हजारभन्दा बढी युवा युवतीले रोजगार पाउनेछन् ।

अन्तमा
सर्दु र सेउतीबाट वर्षायाममा बगेर खेर गइरहेको पानीलाई उपयुक्त ठाउँहरूमा पानी सङ्कलन केन्द्र निर्माण गरी सञ्चित गर्न सके धरानमा पानीको कमी कहिले हुने छैन । ती पोखरीहरू पर्यटकहरूको आकर्षणको विन्दु बन्न सक्छन् । त्यस्तै धरानवासीको प्राणसित गाँसिएको चारकोशे जङ्गललाई केन्द्र सरकारको स्वामित्वबाट धरानको स्वामित्वमा ल्याउन सके यो जङ्गल विश्वको सबैभन्दा ठूलो प्राकृतिक वन्यजन्तु आरक्ष बन्न सक्छ । यो सहरलाई कुनै बेला लाहुरेहरूको सहर भनिन्थ्यो तर समयको बदलिँदो परिस्थितिमा धेरै जसो गोर्खाहरू बेलायतको स्मार्ट सिटीहरूमा रमाउन त्यहाँ पुगेका छन् । फेसन र सुन्दर महिलाहरूको शहरले परिचित धरान हिजोभन्दा अझ परिष्कृत भएको छ । तर, अफसोस यस धरानले आज सम्म राष्ट्रिय राजनीतिक नेता उत्पादन गर्न सकेको छैन वास्तवमा यहाँ काङ्ग्रेस समर्थक अबल र सबल मानिस नभएको होइन तर उनीहरू राजनीतिमा उत्रन चाहँदैनन् । नेपाली काङ्ग्रेसलाई जस्तै समस्या नेपाल कम्युनिष्ट पार्टीभित्र पनि नभएको होइन तर हाल देखेका केही युवा नेताहरूमा भने भविष्यमा धरानको राष्ट्रिय राजनेता बन्न सक्ने सम्भावना बोकेको देखिन्छ ।