विराटनगर/ चरम लापरबाही गरेर पानी तान्ने बोरिङ मेसिन नै शौचालयको सेफ्टी ट्याङ्कीसँग जोडेर राखिएको विराटनगरस्थित एक पानी उद्योगको प्रशोधित पानीमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कोलीफर्म जीवाणु भेटिएको छ ।

शुद्ध पिउने पानी उत्पादनका लागि भन्दै विराटनगर–७ बुद्धमिलन चौकस्थित ॐ जे.के. पानी उद्योगले जार मात्र भरेर उत्पादन गर्ने ‘एच टू’ पानीमा कोलीफर्मको जीवाणु भेटिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरमा प्रशोधित पानीको स्याम्पल ल्याएर गरेको ल्याव परीक्षणपछिको रिपोर्टमा जे.के. पानी उद्योगले उत्पादन गरिने पानीमा स्वास्थ्यलाई असर गर्ने कोलीफर्म भेटिएको खाद्य प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।

सो उद्योगले बोरिङ मेसिन नै शौचालयको सेफ्टी ट्याङ्कीसँग जोडेर राख्ने गरेको खाद्यले गत मङ्गलबार गरेको अनुगमनको क्रममा फेला परेको थियो । त्यसपछि कोलीफर्म हुनसक्ने आशङ्का गर्दै तत्काल बिक्री वितरण र उत्पादनमा रोक लगाएको थियो । कार्यालयले अनुगमनपछि नमूना सङ्कलनको लागि पनि २ थान जार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा ल्याएको थियो ।

अनुगमनपछि आइतबार साँझ आएको ल्याव परीक्षण रिपोर्टमा प्रशोधित पानीमा कोलीफर्म भेटिएपछि कानूनी कारबाहीको लागि प्रक्रियागत रूपमा अगाडि बढ्ने प्रमुख कोइरालाले बताए । ‘यसअघिको अनुगमनमा बोरिङ मेसिन नै शौचालयको सेफ्टी ट्याङ्कीसँग जोडेर राखेको फेला परेका दिनदेखि उत्पादन र बिक्री वितरणमा रोक लगाएका थियौं’ उनले भने, ‘अब कोलीफर्म देखिएपछि खाद्य ऐनअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढाउनेछौं ।’

कार्यालयले खाद्य ऐन २०२३ खाद्य नियमावली बमोजिम उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ । उद्योगको सञ्चालकहरूको कार्यालयले बयान लिने काम सकेपछि प्रक्रियागतरूपमा प्रशासनमा मुद्दा चलाउने बताइएको छ । सो मुद्दामा दोषी ठहर भए ५ देखि १० हजार रुपैयाँ जरिवाना वा ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै सजाय हुनसक्ने कानूनी व्यवस्था छ ।

जे.के. पानी उद्योगका जितेन्द्रकुमार यादव, ओमप्रकाश राउत र कौशलेन्द्रकुमार कर्ण सञ्चालक हुन् । खाद्य निरीक्षक शङ्कर न्यौपानेको नेतृत्वमा भएको अनुगमनको क्रममा उद्योगमा युपी ल्याप फिलरको ठीक अगाडि नभएको र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ मा रहेको प्रावधानअनुसार उद्योग प्रवेश गर्नुभन्दा अगाडि हात धुने बेसिन नभएको, जार धुने ठाउँ खुल्ला स्थानमा रहेको फेला परेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तत्काल सुधार गर्न निर्देशन दिएको छ ।

उक्त पानी उद्योगले प्यानमा दर्ता भएको र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दिएको अनुज्ञापत्र पनि उपभोक्ताले देखिने गरी राखिएको थिएन । उक्त उद्योगबाट ३ हजार लिटर प्रशोधित पानी उत्पादन भई बजारमा खपत हुने गरेको छ । कोलीफर्म भएको पानी पिउँदा स्वास्थ्यमा गम्भीर असर गर्ने विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काले बताए । कोलीफर्म भएको पानी पिउनाले झाडापोखला लाग्ने, हेपाटाइटिस (जण्डिस) हुने, मिर्गौला र कलेजोमा समेत असर गर्ने उनको भनाइ छ ।