विराटनगर/ सवारी साधान ब्याक गरेर ज्यान लिने चालकहरूलाई सामान्य सजाय नभई जन्मकैदसम्मको व्यवस्था गर्नुपर्ने सांसद्हरूले माग गरेका छन् ।

प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफलको क्रममा प्रदेशसभा सदस्य सांसद् अम्विका थापाले ब्याक गरेर ज्यान लिने चालकहरूलाई सामान्य सजाय नभई जन्मकैदसम्मको व्यवस्था गर्नुपर्ने माग गरिन् । उनले अचानक दुर्घटना भएको हकमा भने कम सजायको माग गरेकी छन् ।

त्यस्तै प्रदेशसभा बैठकमा बोल्दै सांसद् केदार कार्कीले सवारी साधनलाई आवश्यकताभन्दा बढी चेकजाँच गर्ने गरी कसूरहरूको व्यवस्था गर्ने र दस्तुरहरू लिने प्रावधान राख्दा भ्रष्टाचार र अनियमितता बढ्नेतर्फ सचेत गराए । सांसद् जयराम यादवले सवारी साधन खरिद गर्दा त्यसको सञ्चालन अवधि निर्धारण गरेर एकैपटक कर लिने व्यवस्था गर्नु राम्रो हुने बताए । उनले परिवारभित्र नामसारी गर्दा दस्तुर लिने व्यवस्था हटाउनु पर्ने पनि बताए ।

प्रदेशसभामा सैद्धान्तिक छलफल भइरहेको विधेयकमा मनसाय लिई सवारी साधनले ठक्कर गराई ज्यान मारेमा जन्मकैद हुने व्यवस्था गरेको छ भने मनसाय राखेर दुर्घटना गराउँदा पनि ज्यान मरेको रहेनछ भने पाँचदेखि १२ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ ।

बिहीबारको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य कृष्णकुमारी राईले जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानहरूको विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले अङ्गीकृत नागरिकता खारेज गर्दा वा उनीहरूका सन्तानलाई वंशजका आधारमा नगरिकता नदिँदा आउने समस्याको विश्लेषण गर्न पनि आग्रह गरे ।

प्रदेशसभा सदस्य सूयर्माराज राईले मोरङको बेलबारीमा सहारा बालग्रामको नाममा रहेको जमिन व्यक्तिको नाममा लैजाने कार्यमा संलग्न पूर्वसांसद् हर्कमान तामाङलगायतका व्यक्तिलाई कारबाही गर्न र संसदीय छानबिन समिति बनाउन माग गरेका थिए ।