विराटनगर/ विराटनगर महानगरपालिका–७ बुद्धमिलन चौकस्थित एक पानी उद्योगले शौचालयको सेफ्टी ट्याङ्की (हर्ज) नजिक प्रशोधित पानी उत्पादन गर्ने बोरिङ मेसिन राखेको फेला परेको छ ।

तीनजना सञ्चालकले खोलेको ‘ॐ जे.के. पानी उद्योग’ मा खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मङ्गलबार दिउँसो आकस्मिक गरेको अनुगमनको क्रममा यस्तो फेला पारेको हो ।

हर्जछेउमा प्रशोधित पानी उत्पादन गर्ने बोरिङ मेसिन रहेकोले कार्यालयले तत्कालको लागि जे.के. पानी उद्योगले उत्पादन गर्ने ‘एच टू’ पानी उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ । पानी उत्पादन गर्ने बोरिङ मेसिन हर्जनजिक भएकोले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कोलिफर्म जीवाणु हुनसक्ने आशङ्का गर्दै तत्कालको लागि सो उद्योगबाट उत्पादन हुने पानीको बिक्री वितरणमा रोक लगाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।

खाद्य निरीक्षक शङ्कर न्यौपानेको नेतृत्वमा गरेको अनुगमनको क्रममा हर्जनजिक बोरिङ मेसिन राखिएको फेला परेपछि कार्यालयले २ थान प्रशोधित पानीसहितको जार ल्याव परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगिएको छ । ‘नमूना सङ्कलन गरी २ थान जार परीक्षणको लागि खाद्य प्रविधि कार्यालय लगिएको हो’ खाद्य निरीक्षक न्यौपानेले भने, ‘पानीमा कोलिफर्म देखापर्ने शौचालयको हर्जबाटै हो ।

अनुगमनको क्रममा यस उद्योगमा पनि हर्ज नजिकै बोरिङ गर्दै आएको देखियो । यसको नतिजा ल्याव परीक्षणपछि आउनेछ ।’ पानीको ल्याव परीक्षण गरी रिपोर्ट नआएसम्म उद्योगले उत्पादन गरेका पानीको बिक्री वितरणमा रोक लगाएको उनले बताए । ‘४८ घण्टापछि पानीको रिपोर्ट आउनेछ’ उनले भने, ‘कोलिफर्म छ या छैन त्यसपछि मात्र भन्न सकिन्छ ।’

जितेन्द्रकुमार यादव, ओमप्रकाश राउत र कौशलन्द्रकुमार कर्णले सञ्चालन गरेको उक्त पानी उद्योगमा युपी ल्याप फिलरको ठीकअगाडि नभएको र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ मा रहेको प्रावधानअनुसार उद्योग प्रवेश गर्नुभन्दा अगाडि हात धुने बेसिन नभएको, जार धुने ठाउँ खुल्ला ठाउँमा रहेको अनुगमनको क्रममा फेला परेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तत्काल सुधार गर्न पनि निर्देशन दिएको छ । उक्त पानी उद्योगले प्यानमा दर्ता भएको र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दिएको अनुज्ञा–पत्र पनि उपभोक्ताले देखिने गरी राखिएको थिएन ।

पानी उद्योगका सञ्चालकमध्येका एक ओमप्रकाश राउतले दैनिक २ हजारदेखि ३ हजार लिटर प्रशोधित पानी उत्पादन गरी बिक्री गर्ने गरेकोे जानकारी दिए । उनले आगामी दिनमा प्रशोधित पानी उत्पादन गरिँदा अपनाउनु पर्ने सावधानीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

यसअघि प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वमा गत साउन पहिलो साता विराटनगरमा सञ्चालित २० वटा पानी उद्योगहरूको अनुगमनको क्रममा १३ वटा पानी उद्योगमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्नेे ‘कोलिफर्म’ जीवाणु र पी.एच. कम भेटिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले महानगरपालिकाभित्रका १३ वटा पानी उद्योगविरूद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।

सो मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ । त्यस क्रममा खाद्य अनुज्ञा–पत्रबेगर सञ्चालन र वर्षौंदेखि अनुज्ञा–पत्र नवीकरण नभएका ६ वटा पानी उद्योगमा सिलबन्दी गरिएको थियो । प्रशोधित पानीमा ‘कोलिफर्म’ भेटिएपछि खाद्य ऐन २०२३ खाद्य नियमावलीबमोजिम उद्योगविरुद्ध कार्यालयले मुद्दा दायर गर्दै आएको छ । सो मुद्दामा दोषी ठहर भए ५ देखि १० हजार रुपैयाँ जरिवाना वा ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै सजाय हुनसक्ने कानूनी प्रावधन छ ।

कोलिफर्म भएको पानी पिउँदा स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकहरूको भनाइ छ । विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार पानीमा कोलिफर्म भएको पानी पिउनाले झाडापखाला लाग्ने, हेपाटाइटिस, जण्डिस हुनुका साथै मिर्गौला र कलेजोमा समेत असर गर्ने बताए । ‘कोलिफर्म भएको पानी पिउनाले ज्यानैसमेत जानसक्ने खतरा हुनेछ’ –डाक्टर खड्काले भने ।

lab-ladai-pani--(2)