काठमाडौं   निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता गर्न सूचना जारी गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो ।

उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको आयोगले जनाउको छ । यो अवधिमा दलको लेखापरीक्षणलगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुनु पर्ने छ । दर्तामा आएका दलहरुले मात्र निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरिएको छ ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ । संविधानमा तोकिए अनुसार आयोगले सूचना जार िगरेको हो । यो सूचना २०७४ सालको निर्वाचनमा सहभागी नभएका दलहरुको लागि मात्र हो । यस अघिका निर्वाचनमा भाग लिएका दलहरुले दर्ता गर्न नपर्ने आयोगले जनाएको छ ।
यसका लागि नेकपाले पनि दल दर्ता गर्नु पर्ने छ ।

निर्वाचनपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेकाले उपनिर्वाचनका लागि यो दल पनि निर्वाचन आयोगमा दर्ता हुनुपर्ने भएको हो । संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीले पनि उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्ने हुन्छ ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५० स्थानहरू हाल रिक्त छन् । निर्वाचन आयोगले आगामी मंसिर १४ गते निर्वाचन गर्ने तयारी गरेको छ ।