भद्रपुर / नेपाल राष्ट्रिय धामी वैद्यसङ्घ झापाले मनषा देवी पूजा मेला विविध कार्यक्रमका साथ मनाएको छ । जिल्लामा रहेका आदिवासी,जनजाती(राजवंशी,सन्थाल,यादव)ले शनिबार भद्रपुर ४ स्थित बोक्तोबारीमा कार्यक्रम सम्पन्न गरेका हुन् । चिकित्सक, वैद्य र झारफुक तीन प्रकारका उपचार पद्धतीलाई रोग अनुसार उपचार लिन जनचेतनामुलक नाटक गरेर सर्वसाधारणलाई जानकारी गराएका थिए ।
त्यसैगरी धामीले मन्त्रको सहायताले सर्पको बिष हातमा लगाएर मन्त्रद्धारा नै घेराबन्दी लगाएर प्रतियोगिता गराइएको थियो । घेराभित्र रहेका प्रतियोगिलाई चौर वरिपरी रहेका १४ जना धामीको मन्त्रले घेरा तोडाउन सफल भएमा विजेता हुने प्रतियोगिताको नियम रहेको थियो । बिषका कारण उनीहरुको कुइनो भन्दा तल कामेको थियो । यस्तो खेललाई बिषहरि पत्ता खेल हुने आयोजक कमिटिका धामी देवचरण राजवंशीले जनाए ।
करिब २ घण्टासम्म कुनैपनि धामीको समूहले घेरा तोडाउन नसकेपछि देवचरण राजवंशी, बिषलाल गणेश र लखनराज राजवंशीले घेराबन्दीको मन्त्र फुकुवा गरिदिएका थिए । केही समयपछि घेरा बाहिर रहेका धामीको समूहको मन्त्रले हरेन रावंशीलाई तानेको थियो । राजवंशीलाइ भट्टागाउँ समूहले विजय प्राप्त गरेको थियो । त्यसैगरी कामेश्वर यादवलाई जुरोपानीको जादुलालको समूहले तानेको थियो ।
कार्यक्रममा शिव पार्वती बनाएर सक्कली गोमन सर्प बेरेर घुमाइएको थियो । सर्पको बिष झार्ने गौरादह नगरपालिका जुरोपानीका जादुलाल राजवंशीले सर्पलाई मन्त्रले बाधेर प्रयोग गरेका थिए । कार्यक्रममा धामीझाक्री नाच पनि प्रर्दशन गरेका थिए । प्रतियोगितामा विजेता समूहलाइ १५ हजार,१० हजार र ५ हजार नगद प्रदान गरिएको थियो । झापाभरीका करिब एकसय जना धामी झाक्र्रीको सहभागिता रहेको थियो ।