इटहरी । यही भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’ को पब्लिसिटी कन्सर्ट इटहरीबाट शुरु भएको छ ।
स्थानीय कलाकार, डान्सर, डाइनामिक ब्याण्ड, मारुनी फेसन शो सँगै फिल्मकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले मारुनीको गीतमा कम्मर मर्काउँदा इटहरीमा हुटिङको वर्षा भयो ।
झण्डै १५ सयको हाराहारीमा इटहरीबासीमाझ साम्राज्ञी र पुष्प फिल्मको सार्वजनिक २ लोकप्रिय गीत ‘सक्दिन’ र ‘जाम न माया जाम’ मा उपस्थित दर्शकसँगै नाचेका थिए । कन्सर्टको अर्को मुख्य आकर्षण मारुनी फेसन शो रहेको थियो । केही दिनअघि मारुनी टिसर्ट लगाएर फोटोसुट गरेका युवायुवती तथा मोडलहरूले कार्यक्रमको अन्त्यतिर र्याम्प शो गरेका थिए । उक्त र्याम्प शो सँगै साम्राज्ञी र पुष्प स्टेजमा चढ्दा दर्शकको भीड थाम्न हम्मे–हम्मे परेको थियो ।

सेल्फी खिच्न क्रेजी उपस्थित दर्शकहरूसँग साम्राज्ञी र पुष्पले उत्साहित हुँदै नाच्न छोडेर सेल्फी खिच्न थालेको दृश्य हेर्नलायक थियो । नायक नायिकासँगै निर्माता पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्ले पनि उपस्थित थिए ।

निर्माता पुनमले आफू यसरी फिल्मका लागि पहिलो पटक हिँडेको र उक्त जमात देख्दा एकदमै उत्साहित भएको भन्दै स्टेजबाट भदौ १३ गते सबैलाई मारुनी हेर्न नजिकको हलमा जान आग्रह गरिन् ।