इनरुवा । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले विकास निर्माणमा राजनीति गर्न नहुने धारणा व्यक्त गरेका छन् ।

प्रदेश सरकार समुन्नत र समृद्धितर्फ अग्रसर भएकाले विकास निर्माणमा व्यवधान उत्पन्न हुने कुनै कार्य नगर्न उनले आग्रह गरेका हुन् । विशेषगरी दलीय आडमा मेरो र तेरो भन्ने भावना त्याग्न जरुरी रहेको घिमिरेले बताए । उनले नमूना प्रदेश निर्माणका लागि चालिएका महत्वाकांक्षी योजना सफलताका लागि सिङ्गो प्रदेशवासीको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

इनरुवा नगरपालिका–६ मा निर्माण थालिएको क्षेत्रीय कवर्ड हल निरीक्षणपश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री घिमिरेले रचनात्मक कार्यलाई प्रोत्साहन गर्नु जरुरी रहेको बताए । दलीय खिचातानीले विकासमा बाधा पुग्ने भएकाले राम्रो कामको प्रशंसासहित हातेमालो गर्न र गलत गर्नेको हकमा खबरदारी गर्न आम सर्वसाधारणमा उनले आग्रहसमेत गरे ।

मन्त्री घिमिरे निर्माणाधीन क्षेत्रीय कवर्ड हलको निरीक्षणका लागि शुक्रबार बिहान मधेशा पुगेका थिए । उनले ५ करोड ७९ लाख ४२ हजार ५ सय ६६ रुपैयाँ लागतअनुमान गरिएको कवर्ड हलमा भइरहेको निर्माण कार्यलगायतको बारेमा जानकारी लिएका थिए । जानता मावि मधेशाले उपलब्ध गराएको १७ कठ्ठा १० धुर जग्गामा मधेशा कवर्ड हल निर्माण उपभोक्ता समितिले २०७४ सालको असार अन्तिम साताबाट विद्यालयसँगको सम्झौता मुताविक निर्माण कार्य अघि बढाएको थियो ।

निर्माणाधीन कवर्ड हल इण्डोरका सबै खेल खेलाउन मिल्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउन लागिएको समितिका अध्यक्ष झलकराज खड्काले बताए । खड्काले निरीक्षणसँगै निर्माण लागत र पूर्वाधारका विषयमा मन्त्री घिमिरेलाई जानकारी गराइएको बताए ।

कवर्ड हलका लागि अघिल्लो आर्थिक वर्षमा ५० लाख रकम उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले यस पटक ६० लाख रकम छुट्याएको जनाएको छ । राखेपसहित मधेशा स्कुल, इनरुवा नगरपालिका, वडा कार्यालय र प्रदेश सरकारबाट प्राप्त ९५ लाख ६५ हजार रकमबाट कवर्ड हल निर्माणको कार्य जारी रहेको वडाध्यक्ष कोषराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा मन्त्री घिमिरेसमक्ष खड्काले कवर्ड हलसम्बन्धी र मधेशा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष गणेशबहादुर खड्काले खानेपानी योजना सञ्चालनसम्बन्धी प्रतिवेदन बुझाएका थिए ।

त्यसैगरी जनता माविका प्रअ बलराम चौधरीले भौतिक पूर्वाधारको कमी र जीर्ण संरचनामा आवश्यक स्रोत साधन अभाव झेलिरहेको विद्यालयका लागि मन्त्रालयबाट सहयोग उपलब्ध गराइदिन मन्त्री घिमिरेसमक्ष आग्रह गरेका थिए । मन्त्री घिमिरेले कवर्ड हलका अलावा मधेशा खानेपानी आयोजना र बबियामा रहेको कब्रस्थान निर्माणस्थलको समेत निरीक्षण गरेका थिए ।