धनकुटा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा अन्धोपन निवारण गर्न नेत्रज्योति सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

धनकुटाको भेडेटारमा बुधबार आयोजित नेपाल नेत्रज्योति सङ्घको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेत्रज्योति सङ्घका विभिन्न अस्पतालबाट दिइने सेवा लिन नेपाली र विदेशीसमेत आउने गरेकाले आँखा उपचारमा ठूलो भूमिका रहेको बताए ।

नेत्रज्योति सङ्घद्वारा सञ्चालित नेपालको पूर्व क्षेत्रका अस्तपतालमा भारत, बङ्गलादेश, भूटानलगायतका मुलुकबाट बिरामीहरू नेपालमा उपचार गर्न आउने परिस्थिति निर्माण गरेका कारण नेपाल सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको मुख्यमन्त्री राईले बताए ।

सो अवसरमा नेपाल नेत्रज्योति सङ्घ १ नम्बर प्रदेशका अध्यक्ष श्यामसुन्दर उदासले १८ आँखा अस्पताल, एक सय आँखा उपचार केन्द्र, १ नम्बर प्रदेशमा चारवटा आँखा अस्पताल र २१ उपचार केन्द्रमार्फत् नेपालका ९० प्रतिशत मानिसको आँखा उपचार गरिहेको बताए ।

प्रदेश १ का सबै स्थानीय तहमा अन्धोपन निवारण गर्नका लागि सेवा केन्द्र स्थापना गर्ने एवम् बालबालिकाका लागि सबै विद्यालयसम्म पुगेर विद्यार्थीहरूको आँखा परीक्षण शिविर सञ्चालन गरी चश्मा एवम् औषधि वितरणसमेत गरिएको उदासले बताए ।