मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ को कुवापानी, सिमले र बतासे गाउँमा पहिलो पटक विद्युत् सेवा पुगेको छ ।
विद्युत् सेवाको उद्घाटन गर्न मोरङ क्षेत्र नं. १ का सङ्घीय सांसद् घनश्याम खतिवडाले उद्घाटन गरे । मिक्लाजुङ गाउँपालिकाको केन्द्र मधुमल्ला बजारबाट करिब १० कि.मी. दूरीको उक्त स्थानमा बत्ती बलेसँगै स्थानीयमा खुशी छाएको छ । मिक्लाजुङ–२ कुवापानीका सलन राईले गाउँमै विजुली आएपछि बत्ती बाल्न, मोबाइल, टिभी र रेडियो बजाउन सजिलो भएको बताए ।

विद्युत् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् खतिवडाले मिक्लाजुङका अन्य दूरदराजका गाउँहरूमा सडक र बत्ती पुर्याउने कार्यमा आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका खतिवडाले बक्राहा नुनसरी खोलामा पुलसमेत चाँडै निर्माण गरिने बताए ।

नुनसरी बक्राहा खोलामा पुल निर्माण भई नसक्दा करिब १० कि.मी. को मोटर बाटोबाट पार गर्ने दूरीका लागि अहिले मधुमल्ला, उर्लाबारी, किसान चोक, धोवेनी, ओखलढुङ्गा हुँदै कुवापानी जानु पर्ने बाध्यता छ ।

ती तीन गाउँका ६३ घरहरूमध्ये ६२ घरका उपाभोक्तालाई नेपाल विद्युत् प्राधिकरण उर्लाबारीले एम.सि.बी र कालो तारसमेत निःशुल्क उपलब्ध गराएको प्राधिकरणका कर्मचारी देवीप्रसाद निरौलाले बताए । मिक्लाजुङ–२ को रानीपोखरी आधारभूत विद्यालयमा भएको उक्त कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई, गाउँपालिका प्रवक्ता नगिन्द्र कार्की, वडाध्यक्षहरू बुद्धिलाल निरौला, गौरीप्रसाद राई, नेपाल विद्युत् प्राधिकरण उर्लाबारीका प्रमुख शिवराम यादव, समाजसेवी मानबहादुर श्रेष्ठ र स्थनीयको उल्लेख्य सहभागिता रहेको थियो ।