धरान । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी मगरले भ्रष्टाचारले देशलाई झन्–झन् गरिब बनाएको भन्दै भ्रष्टाचारीलाई देशद्रोही सरहको कारबाही हुने कानून बनाउन माग गरेका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर समितिले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मगरले भ्रष्टाचारविरुद्ध कडा कानून बनाउन जनदबाव आवश्यक रहेको बताए । उनले मुलुकबाट भ्रष्टाचारलाई नियन्त्रण होइन, निर्मूल पार्नुपर्ने धारणा राखेका थिए । उनले भ्रष्टाचार निर्मूल पार्नका लागि छुट्टै विशेष अधिकारसहितको स्वतन्त्र नागरिक अदालतको स्थापना गर्न आवश्यक रहेको पनि बताए ।

वैदेशिक ऋणको भरमा चलेको देश भ्रष्टाचारले झनै नाजुक बन्दै गएको भन्दै देशमा गरिबीको सङ्ख्या वृद्धि हुनुमा भ्रष्टाचार नै प्रमुख कारण रहेको दाबी गरे । कार्यक्रममा बोल्दै उनले भने, ‘युवाशक्तिलाई देशमा उपयोग गर्न नचाहने शक्तिहरू सरकारमा हालीमुहाली भएका कारण नै आज देशको स्थिति कमजोर हुँदै गएको छ ।’

नेता मगरले अब युवा विद्यार्थीहरू भ्रष्टाचार विरुद्ध र सरकारको गैरजिम्मेवारीपन विरुद्ध उभिनुपर्ने धारणा राखे । उनले सरकारले चट््पटे बेच्नेलाई समेत कर लगाएर त्यो रकममा भ्रष्टाचार गरेको आरोपसमेत लगाए । नाम मात्रको सङ्घीयता जारी गर्ने एकात्मक राज्य व्यवस्थाको नेतृत्वले स्थानीय र प्रदेश सरकारलाई कमजोर बनाउँदै दुईतिहाई अधिकार केन्द्र सरकारमा राखेको आरोप पनि लगाए ।

 

अधिकार केन्द्रीकृत गरेकै कारण सङ््घीयताको अपव्याख्या र सङ््घीयता विरोधीहरू सल्बलाउन थालेको मगरले बताए । उनले सङ्घीयता चाहने शक्तिहरू एकजुट हुन आवश्यक भएको पनि बताए । कार्यक्रमको अध्यक्षता उपमहानगर कमिटी अध्यक्ष चित्र थापामगरले गरेका थिए ।