भद्रपुर /  पालन पोषण गर्ने व्यक्ति क्यान्सर रोग लागेर अस्पताल भर्ना भए पछि परिवार बिचल्लीमा परेका छन् । भद्रपुर नगरपालिका ८ स्थित फुलबारी टोलका २६ वर्षीय दासको मलद्धारमा क्यान्सर रोग लागेपछि परिवारमा समस्या उत्पन्न भएको छ । दुईवर्ष अघि वैदेशिक रोजगारबाट विरामी भएर स्वदेश फर्किएका दास क्यान्सर रोगबाट थला परी हाल भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना भएका छन् ।
६ वर्षअघि बुबाको निधन पश्चात् परिवार पाल्न भनी पढाई छाडेर किसन वैदेशिक रोजगारीका लागि सन् २०१५ मा दुबई गएका थिए । आमाले ऋण लिएर दुबई पठाएका किसन दुई वर्षपछि घर फर्किएका थिए । त्यस बेला विदेशमा कमाएको पैसाबाट उनले आमाले लिएको ऋण तिरे र केही रकम जुटाए । सन् २०१७ मा फेरि किसन वैदेशिक रोजगारीका लागि दुबई पुगे, तर, त्यस बेला उनी त्यहीँ बिरामी परे । विरामी भए पछि किसन घर फर्किए । घर फर्किएर उनले चेक जाँच गर्दा उनलाई क्यान्सर भएको थाहा भयो । दुई वर्षअघिदेखि क्यान्सर पीडित बनेका छोरा किसनको उपचारमा अहिलेसम्म १५ लाख बढी खर्च भइसकेको उनका आमा सुनिताले बताइन् । परिवार पाल्ने छोरालाई नै क्यान्सर रोग लागेको थाहा पाएपछि उपचारका लागि काठमाडौँस्थित नेपाल क्यान्सर अस्पताल लगेको सुनिताले बताइन् । उपचारमा रकम नपुगेपछि छोरालाई लिएर घर फर्किएको उनले सुनाइन् । रोगका कारण मलद्धार सुनिएर दिसा पिसाब रोकिँदा पेट सुनिएको उनले बताइन् । बिमारले झन च्यापेपछि चार धुर जग्गा बैङ्कमा राखेर अस्पताल भर्ना गरिएको उनले बताइन् ।
अस्पतालका चिकित्सकले पेटबाट दिसा पिसाब निकाल्ने अवस्था वनाइदिएको उनले सुनाइन् । छोरालाई क्यान्सर रोग भएपछि सात वर्षको नाति लिएर बुहारी माइती गएकी र छोरा क्यान्सर लागेर थला पर्नुको पीडा उनले सुनाइन् । विरामी छोराको उपचारका लागि सहयोग गरिदिनुहुन उनले सबै समक्ष आग्रह गरेकी छन् ।
बिरामीको उपचार सहयोगका लागि बिर्तामोड ४ स्थित गङ्गामाया तथा नरबहादुर क्यान्सर पीडित सहयोग संस्था किसन दास बचाउ अभियानमा जुटेका छन् । चेतनाको अभावमा स्वास्थ्यको कारण कोही पनि नेपालीको मृत्यु हुनु हुँदैन भन्ने सङ्कल्प लिएर किसन दास बचाउ अभियानमा लागेको संस्थाका अध्यक्ष भूपाल बस्नेतले जानकारी दिए । क्यान्सर रोग बिरामीको क्षेत्रमा काम गर्दै आइरहेको संस्थाले अहिलेसम्म ९५ जनाको उपचार गराइसकेको उनले बताए । अभियानलाई सफल बनाउन देश तथा विदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरिदिनुहुन सबै समक्ष उनले अपिल गरेका छन् । किसनको सहयोगका लागि ९८४२६५२५१२ र ९८०३०४१४३१ नम्बरमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।