इनरुवा / प्रदेश नम्वर एकका सामाजिक बिकास मन्त्री जीवन घिमिरले विकास निर्माणमा राजनिति नगर्न आग्रह गरेका छन् ।
प्रदेश सरकार समुन्नत र समृद्धि तर्फ अग्रसर भएकाले विकास निर्माणमा व्यवधान उत्पन्न्न हुने कुनै कार्य नगर्न उनले आग्रह गरेका हुन् ।
विशेषगरी दलीय आडमा मेरो र तेरो भन्ने भावना त्याग्न जरुरी रहेको बताएका घिमिरेले नमुना प्रदेश निर्माणका लागि चालिएका महत्वकांक्षी योजना सफलताका लागि सिङ्गो प्रदेशवासीको साथ र सहयोगको आवश्यकता भएको बताए ।
इनरुवा नगरपालिकाको वडा नम्वर ६ मा निर्माण थालिएको क्षेत्रीय कबर्ड हल निरिक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक बिकास मन्त्री घिमिरेले रचनात्मक कार्यलाई प्रोत्साहन गर्नु जरुरी रहेको बताए ।
दलीय खिचातानीले विकासमा बाधा पुग्ने भएकाले राम्रो कामको प्रशंशासहित हातेमालो गर्न र गलत गर्नेको हकमा खबरदारीमा आम सर्वसाधारणमा उनले आग्रह समेत गरे ।
मन्त्री घिमिरे निर्माणाधिन क्षेत्रीय कबर्ड हलको निरिक्षणका लागि शुक्रबार मधेशा पुगेका थिए । उनले ५ करोड ७९ लाख ४२ हजार ५ सय ६६ रुपैंयाको लागत अनुमान गरिएको कबर्ड हलमा भैरहेको निर्माण कार्य लगायतको बारेमा जानकारी लिएका थिए ।
जनता माबि मधेशाले उपलब्ध गराएको १७ कट्ठा १० धुर जग्गामा मधेशा कबर्ड हल निर्माण उपभोक्ता समितिले २०७४ सालको असार अन्तिम साताबाट विद्यालयसँगको सम्झौता मुताबिक निर्माण कार्य अघि बढाएको थियो ।
निर्माणाधिन कबर्ड हल इन्डोरका सबै खेल खेलाउन मिल्ने गरी अन्र्तराष्ट्रिय मापदण्ड अनुरुपको बनाउन लागिएको समितिका अध्यक्ष झलकराज खड्काले बताए । खड्काले निरिक्षणसँगै निर्माण लागत र पूर्वाधारका विषयमा मन्त्री घिमिरेलाई जानकारी गराइएको बताए ।
कबर्ड हलका लागि अघिल्लो आर्थिक वर्षमा ५० लाख रकम उपलब्ध गराएको सामाजिक बिकास मन्त्रालयले यस पटक ६० लाख रकम छुट्याएको जनाएको छ ।
राखेपसहित मधेशा स्कुल, इनरुवा नगरपालिका, वडा कार्यालय र प्रदेश सरकारबाट प्राप्त ९५ लाख ६५ हजार रकमबाट कबर्ड हल निर्माणको कार्य जारी रहेको वडाध्यक्ष कोषराज अधिकारीले जानकारी दिए ।
सो कार्यक्रममा मंत्री घिमिरे समक्ष खड्काले कबर्ड हल सम्वन्धि र मधेशा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष गणेशबहादुर खड्काले खानेपानी योजना संचालन सम्वन्धि प्रतिवेदन बुझाएका थिए ।
कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, वडाध्यक्ष कोषराज अधिकारी, राखेप सदस्य तथा कराते महासंघका अध्यक्ष शम्भु आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ अधिकारी सहित समाजिक अगुवाहरु खेमराज पोखरेल, पोष्ट नेपाल, दीपक कार्की, चिरञ्जिवी रेग्मी लगायतको उपस्थिति रहेको थियो ।