मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकालाई सङ्घीय लिम्बुवान मञ्च नेपाल मिक्लाजुङले विभिन्न १२ बुँदे माग राख्दै १५ दिने अल्टिमेटमसहितको ज्ञापन –पत्र बुझाएको छ ।

लिम्बुवानले आर्थिक वर्ष ०७५/७६ को चुरेक्षेत्रलाई आएको एक करोड ८५ लाखलगायतका विषयमा प्रश्न गर्दै ज्ञापन–पत्र बुझाएको हो । मिक्लाजुङको खोला ठेक्का अन्तर्गत ७६ लाख, मिक्लाजुङ गाउँपालिकाले लगाएको मवेसी कर र हाटबजार करलगायतका विषयमा लिम्बुवानले सोधखोज गरेको छ ।

गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यलाई बुधबार लिम्बुवानले १२ बुँदे मागसहितको ज्ञापन–पत्र बुझाएको हो । मञ्चका मिक्लाजुङका कार्यवाहक अध्यक्ष ओम चेम्जोङलगायतका पदाधिकारीले ज्ञापन–पत्र बुझाए थिए ।

मिक्लाजुङ गाउँपालिकाले गर्ने काम कारबाहीमा लिम्बुवानलाई सहभागी साथै जानकारीसमेत नगराउने गरेकोप्रति सङ्घीय लिम्बुवान मञ्च नेपाल केन्द्रीय सचिवालय सदस्य रामचन्द्र थापा मगरले आपत्ति प्रकट गरे । गाउँपालिका अध्यक्ष आचार्यले मागका विषयमा लिखित जवाफ दिने बताए ।