दमक/ सरकारले झापालाई धान उत्पादनको सुपरजोन जिल्ला घोषणा गरेको छ । सोहीअनुसार किसानलाई धान उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमसमेत अघि सारेको छ ।

यसै कार्यक्रमअन्तर्गत किसानलाई चैते धानको मूल्य नपाएका कारण सरकारले वितरण गरेको अनुदानमा चरम अनियमितता भएको खुलासा भएको छ । कृषि ज्ञान केन्द्र झापामार्फत् आएको २० लाख ३१ हजार रुपैयाँसमेत वास्तविक किसानले नपाएको गुनासो आएपछि यो अनियमितता बाहिरिएको हो । किसानका नाममा आएको रकम केही मृत्यु भइसकेका व्यक्तिका नाममा बुझेको भर्पाइ गराइएको छ । एउटै प्रकृतिका किसानलाई पनि अनुहार हेरेर फरक–फरक दरमा रकम वितरण गरिएको पाइएको छ ।

गत २०७५ सालको चैते धान उत्पादन गरेका किसानले उचित मूल्य नपाएको गुनासो गरेपछि सरकारले अनुदानस्वरूप जिल्ला कृषि ज्ञान केन्द्र झापामार्फत् रकम निकासा गरिएको थियो । ज्ञान केन्द्रले वडा कार्यालयको स्वीकृतिमा कन्काई सिंचाइ योजनाले क्लस्टरमार्फत् ३ सय १५ जना किसानको धनीपुर्जाको फोटोकपी सङ्कलन गरेको थियो । सरकारले प्रतिबिगाहा ६ हजार ६ सय ६६ रुपैयाँ उपलब्ध गराएको थियो । यसमा मानिस हेरी कसैलाई १२ सयदेखि ४ हजार ५ सयसम्म र कसैलाई ५ हजार ५ सय गरी मनपरी तरिकाले वितरण गरिएको बताइएको छ । प्रदान गरेको रकम पनि वास्तविक किसानले नपाएको गुनासो झापाको गौरादह नपा–९ का बाबुराम बस्नेतले गरे ।

झापा गौरीगञ्ज गाउँपालिका वडा नं. २ कोरोबारीका किसान श्याम न्यौपानेकी हजुरआमा बितेको ६ वर्ष भइसकेको छ तर उनकी हजुरआमाको नाममा कृषि ज्ञान केन्द्र झापामा हस्ताक्षर भएर अनुदान रकम निकासा भएको देखिन्छ । तर उक्त परिवारले त्यो अनुदान रकम भने अहिलेसम्म पाएको छैन । २०७१ सालमा निधन भएकी हजुरआमा मनमाया न्यौपानेको नाममा रहेको धनीपुर्जा पेश गर्दै कीर्ते सहीछाप गरी आफूलाई जानकारी नगराई रकम निकासा गरेको न्यौपानेले बताए । ‘हजुरआमाको नाममा सहीछाप गरेर रकम खाएको देख्दा म अचम्ममा परेको छु’ –उनले भने ।

यसैगरी कोरोबारीका किसान फागुलाल राजवंशीका बुबा कप्तान राजवंशीको २०४९ साल वैशाख १० गते निधन भएको थियो । तर उनको नाममा पनि रकम लिएर भर्पाइ गरेको थाहा पाउँदा आफु अचम्मित भएको फागुलाल बताउँछन् । उनले भने, ‘झण्डै २८ वर्षअघि निधन भएका बुबाको नाममा सही गरेर अनुदान झिकिएको रहेछ ।’ माङ्सेवा कृषक समूहले ६ लाख ८४ हजार, तुलाचन कृषक समूहले ४ लाख ६७ हजार र कन्काई कृषक समूहले ३ लाख ६७ हजार रुपैयाँ कीर्ते कागज बनाई सहीछाप गराई निकासा गरेको भन्दै गाउँपालिकामा किसानहरूले जानकारी गराएपछि किसानको मागबमोजिम छानबिन अघि बढाइएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

अनियमितता काण्ड अख्तियारमा
झापा गौरीगञ्ज गाउँपालिका वडा नं. २ कोरोबारीमा रहेका तीनवटा कृषक समूहले कीर्ते कागजात बनाएर मृतकको नाममा समेत कृषि ज्ञान केन्द्रबाट अनुदान लिएको विषयमा छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्नका लागि उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

गाउँपालिकालाई किसानहरूले दिएको निवेदनमा अख्तियारमा जानका लागि सिफारिस बनाउन भनिएकाले आवश्यक छानबिन गर्नका लागि अख्तियार अनुसन्धान आयोगलाई अनुरोध गर्ने गाउँपालिकामा भएको किसानहरूको छलफलमा सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र झापाले चैते धान खेती विस्तारका लागि ६ हजार ६ सय ६६ का दरले अनुदान रकम बापत स्थानीय किसानलाई वितरण गर्न भनेर यहाँका ३ वटा सहकारी संस्थाको नाममा १५ लाख १८ हजार निकासा गरेको थियो । यो थाहा पाएपछि किसानहरूले आफूहरूले रकम नपाएको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।